fbpx

कोलम्बोमा आफ्नैपनाले चलेको एउटा पर्यटन व्यवसाय

writter
डा. राजेन्द्र उप्रेती,

श्रीलंकाली साथी डाड्ड गामिनीले गएको आइतबार साँझ कोलम्बोमा रहेको सिनोमोन ग्रेन्ड होटलको एउटा बेग्लै प्रकारको रेष्टुरेन्टमा बेलुकाको खाना खान लिएर गए । कोलम्बोको व्यापारिक केन्द्रमा रहेको पाँचतारे होटलको भब्यता नियाल्दै हामी त्यसको पछाडि रूख–विरुवाको हरियालीभित्र श्रीलंकाको आफ्नोपन बोकेर रहेको एउटा रेष्टुरेन्टमा पुग्यौँ । बिस्तारै वर्षा हुँदैथियो र मधुरो संगीतले रातलाई मदहोस पार्दैथियो । बत्तिको उज्यालोमा रूखका पातहरू बिछट्टै राम्रा देखिँदै थिए । हामी गामिनीले पहिलानै बुक गराएको टेबलमा गएर बस्यौँ । परम्परागत भेषभूषामा रहेका वेटरहरूले पानी र स्थानीय फलको रस ल्याएर स्वागत गरे । अलि पर्तिर खरले छाएका घरहरूभित्र विभिन्न प्रकारका माटाका भाडाहरूमा खानेकुराहरू पाक्दै गरेको देखिन्थ्यो । भाँडाहरूबाट बाफहरू उडिरहेका थिए ।

aa

बिस्तारै ग्राहकहरू थपिँदै जाँदै थिए । सबैखाले ग्राहकहरूको उपस्थिति थियो, त्यहाँ युवाहरू अधबैँसेहरू श्रीलंकाली र विभिन्न देशबाट आएका पर्यटकहरू । विभिन्न खाले खानेकुराहरू खरले छाएका घरहरूमा पाकिरहेका थिए । पाहुनाहरूका लागि सबै कुरा आफैँले छानेर खाने व्यवस्था रहेछ । हामी पनि अरुहरूले झैँ लामलागेर आफूले रोजेको कुराहरू आ–आफना प्लेटमा भर्न थाल्यौँ । विभिन्न प्रकारका अचारहरूबाट सुरु भएको त्यो खानेकुराको क्रम श्रीलंकामा फलाइने विभिन्न प्रकारका स्थानीय जातका चामलहरूबाट बनाइएको भातहरू, तरकारीहरू, माछामासुहरू, फलफूल र मिठाईहरूका भाडाहरूमा आएर सकिने रहेछ ।

ghjg

ठूला पाँचतारे होटलहरूमा यस्तो आफ्नोपना जोगाएर नयाँ पुस्ताहरूको पनि आकर्षणको केन्द्र बनेको यो ठाँउमा आएर परम्परागतरूपले पकाइएका स्वादिष्ट श्रीलंकन खानेकुराहरू खाँदैगर्दा आधुनिकताका नामका हामीले बिर्सँदै गएका र हाम्रा युवापुस्ताहरूले चाख्नै नपाएका कति धेरै हाम्रा आफ्ना परिकारहरू मैले झलझलती सम्झिएँ । केही वर्षअगाडि विराटनगरमा प्रांगारिक मेला लगाउने क्रममा परम्परागत थारु परिकार खान लागेको मानिसहरूको भिड सम्झिएँ । यसरी आफ्नैपन जोगाएर पनि व्यापार हुनेरहेछ भन्ने एउटा राम्रो उदाहरणको रूपमा लिएको छु, मैले यो ठाउँलाई ।

agf
खानेकुरा लिँदै र खाँदै ग्राहकहरू र ग्राहकहरूका लागि राखिदिएका छाताहरू
aa
खाना पाकिरहेको ठाउँको छेउमै रहेको बाजा बजाउने तथा गीत गाउने घर र परम्परागत हात धुने ठाउँ

हाम्रामा पनि होमस्टेहरू र ग्रामीण पर्यटनका कुराहरू हुने गर्छन् । कतिपय ठाउँहरूमा घर मात्र स्थानीय हुन्छन् अन्य सबै खानेकुराहरू बाहिरकै हुन्छन् । जसका कारण ग्राहकहरूले खर्च गरेको रकम अन्त्यमा अन्तै पुग्छ । हाम्रोमा पनि हामीले हाम्रा परम्परागत खानेकुराहरूको प्रयोग बढाउँदै लगे त्यसबाट स्थानीय उत्पादनको सदूपयोय हुने तथा परम्परागत सीपहरूको संरक्षण हुँदै गाँउमा पैसा आउने बाटो बन्ने थियो । त्यसैले हाम्रा व्यवसायीहरूले पनि यसरी आफ्ना परम्पराहरू जोगाउँदै आफ्ना खानेकुराका परिकारहरूको विशिष्ठीकरण गर्दै प्रवद्र्धन गर्न जरुरी छ । ताकी, पछि आउने पुस्ताहरूले पनि आफ्ना पूर्खाहरूका परम्परागत ज्ञानमा आधारित पौष्टिक खानेकुराहरूको बारेमा जान्न सकुन्, चाख्न पाउन सकुन् र आफ्नो त्यही मौलिकतामा आधारित पहिचानले नयाँ व्यवसायको रूप धारण गर्न सकोस् । अनि यस्तै प्रकारका धेरै ठाउँहको विकास गर्न सकियोस् ।
(डा राजेन्द्र उप्रेती¸ भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय¸ प्रदेश १ विराटनगरमा कार्यरत महाशाखा प्रमुख तथा मन्त्रालयका प्रबक्त्ता हुन । )

Loading...