fbpx

पत्रपत्रिकामा देश : सीले काठमाडौं आएर किन थर्काए दुनियाँलाई ?

विराटनगर २९ असोज । चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री ओलीसँग सम्बादको क्रममा चीनको कुनैपनि हिस्सा टुक्राउन कोसिस गर्ने जो कोहीलाई धुलोपिठो बनाउने चेतावनी दिए । त्यस्तो कोसिस गर्ने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्ने उनको भनाई थियो । सीको यही भनाई विश्वभर चर्चाको विषय बन्यो ।

सि को भनाई चाइना ग्लोबल टेलिभिजन नेटवर्कबाट सार्वजनिक भएपछि सिएनएन, बिबिसी, अलजजिरा लगायतका समाचार संस्थाले मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ । सीले दुनियाँलाई चेतावनी दिन नेपाल रोज्नुकै कारण भने तिब्बतका विषयलाई लिएर नेपालमा गतिविधि हुन सक्ने आशंका भएको कारण हुन सक्ने विश्लेषक प्रा.डा.लोकराज बरालले बताए । सीको भनाई हङकङका विषयमा अमेरिकालाई लक्षित भएको परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको भनाई छ ।

सीले तिब्बत आन्तरिक मामिला भएको भन्दै देशको रक्षा कसरी गर्नु पर्छ भन्नेमा चीन स्पष्ट रहेको बताए । उनले हङकङको आन्दोलनलाई पानीको फोकाको संज्ञा दिए । चीनलाई अस्थिर बनाउने पश्चिमाहरुको कोसिसमा आन्दोलन भएको उनको भनाई छ । ताइवान चीनको अभिन्न अंग भएको उनले बताएका थिए ।

मुलुकभरका डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत संघीय सरकार मातहत आएका छन् । कान्तिपुर दैनिकको मुख्य पृष्ठमा छापिएको खबरमा नयाँ वन ऐन अनुसार कार्यालय प्रमुख नै संघमा फिर्ता भएपछि प्रदेशको अधिकार खोसिएको उल्लेख छ । सातवटै प्रदेशको ८४ वटा डिभिजनल वन कार्यालय प्रमुखविहिन बनेका छन् । राष्ट्रपतिले सोमबार वनसम्बन्धि कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणिकरण गरेपछि कानूनी रुपमै डिएफओहरु संघ मातहत आएका हुन् ।

नेपालमा उत्पादीत विजुली अन्य मुलुकमा लैजान महत्वपूर्ण पूर्वाधार मानिएको ४ सय केभी क्षमताको न्यु बुटवल गोरखपुर अन्तरदेशीय प्रशारण लाइन नेपाल र भारतको बराबरी लगानीमा बनाउने सहमति भएको छ । भारतको बैंगलोरमा भएको उर्जासचिवको बैठकमा प्रशारण लाइनको मोडालिटी टुंग्याउने सहमति भएको हो । प्रशारण लाइन बनाउन नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पाेरेशनले ३ महिनामा कम्पनी स्थापना गरिसक्ने समेत सहमति भएको छ । सहमति पछि अब १ सय ४० किलोमिटर लामो प्रशारण लाइन निर्माण सुरु हुने अपेक्षा छ ।

Loading...