fbpx

पत्रपत्रिकामा प्रदेश : प्रदेश लगानी प्राधिकरण गठनको तयारी

विराटनगर २९ असोज । लगानी सम्मेलन गर्ने तयारीमा रहेको प्रदेश १ सरकारले तिहार लगत्तै प्रदेश लगानी प्राधिकरण गठन गर्ने भएको छ । आगामी डिसेम्बर महिनामा लगानी सम्मेलन गर्ने योजनामा रहेको प्रदेश सरकारले प्राधिकरण गठनको लागि कानूनी बाटो खुला गरिसकेको छ ।

जनविद्रोह दैनिकमा छापिएको खबरमा प्रदेश सभाबाट सार्वजनिक, नीजि, सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन २०७६ पारित गरेर मार्ग प्रसस्त गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले बताएको उल्लेख छ । लगानी प्राधिकरणले प्रदेशका आयोजनाहरुको अध्ययन गरेर लगानीको क्षेत्र पहिचान गर्ने छ ।

विराटनगर महानगरपालिका १९ मा जनता आवास कार्यक्रम अन्र्तगत घर निर्माण भइरहेको बेला विवाद आएपछि काम रोकिएको छ । उद्घोष दैनिकमा मुसहर बस्तीमा घर निर्माण भइरहेको बेला विराटनगर ३ पुष्पलालचोकका युवराज खतिवडाले आफ्नो नम्बरी जग्गामा समेत घर निर्माण भएको भन्ने उजुरी वडा कार्यालयमा दिएपछि काम रोकिएको खबर छ । करिब ९ करोडको लागतमा ह्युमानिटी फर ह्याविटेट , जीवन विकास समाज, सहरा नेपाल र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा घर निर्माण सुरु गरिएको हो ।

१ बिघा ४ कठ्ठा क्षेत्रफलमा ६० वटा घर बनाउने योजना अनुसार काम थालिएको भएपनि पहिलो चरणमा २६ वटा घर निर्माण गरिदै थियो । काम सुरु गर्दा आफै बसेर साँधसीमाना छुट्याएका खतिवडाले यतिबेला फेरी बखेडा झिकेको नगरपालिकाकाको तर्फबाट सम्पर्क व्यक्ति रहेका पुनम दाहालले बताए । महानगरले जग्गाका विषयमा मालपोत कार्यालय र नापी कार्यालयसंग आवश्यक जानकारी मागेको छ ।

प्रदेश सरकारले सार्वजनिक यातायातमा जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुट गराउन पहल सुरु गरेको छ । सामाजिक विकास मन्त्रालयमा मंगलबार आयोजित सर्वपक्षीय छलफलमा भाडा छुट कार्यान्वयनका लागि सबै सरोकारवालाहरुलाई पत्रचार गरिने निर्णय गरिएको हो ।

विराटनगरस्थित हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजले सार्वजनिक सवारी साधानमा छुट नदिएको, सवारी साधन नरोक्ने गरेको गुनासो राख्दै ज्ञापनपत्र बुझाएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले समस्या समाधानको लागि पहल सुरु गरेका हुन् । बैठकमा यातायात व्यवसायी, जेष्ठ नागरिकका प्रतिनिधि, अन्य मन्त्रालयका सचिव, प्रदेश १ का प्रहरी प्रमुख लगायतका सहभागि थिए । २०६३ सालमै जारी भएको जेष्ठ नागरिक ऐनमा ६० वर्ष पार भएका जेष्ठ नागरिकलाई यातायातमा भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

Loading...