fbpx

गैरआवासीय नेपालीको निर्वाचनमा उम्मेदवारी शुल्क दश लाख !

काडठमाडौं २८ असोज । गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क १ लाख रुपैयाँदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले बताए ।

गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क ७ लाख ५० हजार रुपैयाँ थियो । गत महाधिवेशनभन्दा यसवर्ष २ लाख ५० हजार बढाएर १० लाख पु¥याइएको हो । अध्यक्षको दर्ता शुल्क १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को १ लाख रुपैयाँ तोकिएको छ । सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक भएकाले उम्मेदवारको शुल्क बढाइएको हो ।

निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको ७ लाख, महासचिवको ६ लाख, सचिव र कोषाध्यक्षको ५ लाख, सहकोषाध्यक्षको ४ लाख, महिला तथा युवा संयोजकको ३ लाख ५० हजार, क्षेत्रीय संयोजकको ३ लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको २ लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको २ लाख ५० हजार र आईसीसी सदस्यहरुको १ लाख रुपैयाँ उम्मेदवार दर्ता शुल्क तोकिएको छ ।

सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौँमा शुरु भएको छ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।

नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । निर्वाचनका लागि आज राति ९ बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ ।

Loading...