fbpx

अमेरिकाले इरानीमाथि ‘अपराध’ गरेको राष्ट्रपति रौहानीको आरोप

तेहरान, २८ असोज । अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएर इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले बताएका छन् ।

इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले राष्ट्रपति रौहानीलाई उद्धृत गरी इरानी जनतालाई खाद्यान्न र औषधीको समेत सङ्कट आउनेगरी नाकावन्दी गर्नु अमेरिकाका लागि ‘लज्जा’ को बिषय बन्नु पर्ने जनाएको छ ।

“इरान विरोधी प्रतिबन्ध ‘आर्थिक आतङ्कवाद’ हो,” उनले भने । अमेरिकी दबावले इरानी जनता र राष्ट्रलाई घुँडा टेकाउने कल्पना असम्भव रहेको राष्ट्रपति रौहानीले दावी गरे । अन्यायपूर्ण तथा अनौठो प्रतिबन्धको दबावका बावजुद इरानी वैज्ञानिक, अनुसन्धानकर्ता, उद्योगी तथा उत्पादकहरूले पूर्ण आत्मनिर्भरताको बाटोमा अघि बढाउन अत्यधिक मेहनत गरेका र अहिले प्रगती भइरहेको रौहानीले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ अमेरिकासहितका विश्व शक्तिराष्ट्रहरूले इरानसँग गरेको आणविक सम्झौता अमेरिकाको पक्षमा नरहेको भन्दै गत बर्षको जुलाईदेखि सम्झौताबाट फिर्ता भएको घोषणा गरी इरानविरूद्ध पहिलेभन्दा अझ कडा प्रतिबन्धको घोषणा गरेका छन् ।

अमेरिकाको निर्णयलाई अन्य हस्ताक्षरकर्ताले भने गलत भन्दै सम्झौताबाट कुनै हालतमा पनि फिर्ता हुननहुने मत प्रकट गर्दै आएका छन् । अमेरिकाले नयाँ सम्झौता गर्न इरानलाई गरेको आग्रहलाई इरानले अस्वीकार गरेपछि तेहरानको अर्थतन्त्र धाराशायी हुनेगरी इरानको प्रमुख आम्दानीको स्रोत तेल तथा अन्य सामानहरूको निर्यात तथा कारोबारमा प्रतिबन्ध लगाएको छ ।

Loading...