fbpx

महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले म्याद दिएको छ । संसदकै महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका महरालाई यस अघिको १० दिन र आगामी शुक्रबार सम्मकोलागि हिरासतमा राख्न अनुमति दिएको हो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो । महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परे पनि अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन । सोही कारण आजसम्मका १० दिनका पनि जोडिने गरी म्याद थप भएको छ ।

म्याद थप भएको समयमा समेत बयान लिने र अनुसन्धान गर्ने काम नसकिए फेरी म्याद थपको लागि अदालतमा उपस्थित गराइने छ । महरालाई अस्पतालबाट सिधै अदालत पुर्याइएको थियो । त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय गर्नेछ ।

Loading...