fbpx

दाइजोले खोस्यो सहनी परिवारको खुशी

भारतको जोगवनीमा भनेजति दाइजो नदिएको निहुँमा आफ्नै श्रीमानले विराटनगर–११ माइती भएकी २२ वर्षीया रञ्जना सहनीको हत्या गरे

विराटनगर, २८ असोज । सानो घरको सिकुवामा सेतो कपडा बाँधेका वृद्ध पूजा गर्ने सुरसार गर्दैछन् । छेउमै घरको वरण्डामा एक महिला झोक्राएर बसेकी छन् । आँगन सानो छ । घरबाहिर सडकमा गाउँलेहरू पीडा र आक्रोश मिश्रीत अँध्यारो अनुहार लगाएर बसेका छन् ।

माथिको दृष्य २७ असोज बिहान विराटनगर– ११ धुधुवाका ७२ वर्षीय उमालाल सहनीको घरको हो । भर्खरै भारतको जोगबनीमा विवाह गरेर दिएकी छोरीको आफ्नै ज्वाइँवाट हत्या भएपछि सहनी परिवार ऋणसँगै हदैसम्मको पीडामा डुबेको छ । भनेजति दाइजो दिन नसक्दा २२ वर्षीया छोरीको हत्या भएको छ ।ss

 

२३ फागुन २०७६ मा सुन्दर भविष्यको कल्पना गर्दै मनिकचन्द र आनन्दीदेवीले एक्ली छोरी रञ्जनाको भारत अररियाको तकिया भन्ने स्थानका २५ वर्षीया भीम बहरदारसँग विवाह गरिदिएका थिए । कपाल काट्ने पेशा गर्ने बहरदारसँग विवाहअघि र पछि गरी सहनी परिवारले मोटरसाइकलसहित दुई लाखभन्दा बढी रकम तिलक पनि दिएका थिए । तर, पनि निष्ठुरी क्रुर ज्वाइँले छोरीको निर्मम हत्या गरिदियो । ‘मागे जति दाइजो दिएकै थियौँ तर आज यस्तो भयो,’ नातिनीको किरिया बसेका उमालालले भने, ‘छोरीलाई कुटेर मारेपछि हातखुट्टा बाँधेर खोलामा फालिदिएछन् ।’

कवाडीको सामान संकलन गर्ने आनन्दी र दैनिक मजदुरी गर्ने मनिकचन्दले विवाहअघि ज्वाइँ खलकले मागेअनुसारको तिलक दिए । तर, पुगेन भन्दै ज्वाइँले पुन मोटरसाइकल मागे । ऋण खोजेर सहनी परिवारले मोटरसाइकल किन्न ९० हजार भारु दिए । त्यसबाहेक ऋणभन्दै पटक–पटक ज्वाइँले ५–१० हजार मागेर लगिरहन्थे ।

पछिल्लो समय सैलुन खोल्न भन्दै ज्वाइँ भीमबहादुरले थप दुईलाख माग गरे । तर, रञ्जनाका बुबा आमाले भनेजति रकम तुरन्त दिन सकेनन् । कवाडी संकलन गरेर बिक्री गरेर जोगाएको पैसाले छोरीको बिहे गरेर टकटएिकका उनीहरू ऋणमा समेत चुर्लुम्म डुबेका थिए ।jhk

 

मागेजति दाइजो नआएपछि बहरदार परिवारले निर्घात कुटपिट गरी रञ्जनालाई मीरगञ्ज पुलनजिकै खोलामा फालिदिए । २२ वर्षीया छोरीको हत्या भएपछि सहनी परिवारमा पीडामाथि पीडा थपिएको छ । ‘छोरीको बिहे गर्दाको ऋण तिर्न सकेको छैन्,’ आनन्दीदेवीले भनिन्, ‘मेरो छोरीका हत्यारालाई कडाभन्दा कडा कारवाही होस् ।’

तराइ समुदायमा अझै दाइजो जस्तो कुप्रथाको विकृति कायमै छ । कानूनले निषेध गरेपनि अझै पनि भनेजति दाइजो नपुगेकै कारण रञ्जना जस्ता धेरै छोरीचेलीहरूले ज्यान गुमाइरहेका छन् ।

हत्यापछि छोरी लिन आउन भन्दै सासूलाई खबर

सहनी परिवारले केटा खोजेर भारतीय नागरिकसँग छोरीको मागी विवाह गरिदिएका थिए । भीमले दाजुसँग मिलेर भारतमा नै सैलुन पसल सञ्चालन गर्दैथिए । तर, दाजुभाईबीच विवाद बढेपछि पसल बेचे । पसल बेचेपछि नयाँ पसल खोल्न पैसा माग्न रञ्जनामार्फत ससुराली पक्षलाई निरन्तर दबाब दिइरहे । ऋण काढेर विवाह गरेको भन्दै उनले श्रीमानको प्रस्ताव अस्वीकार गरिन् ।

उनले दाइजो माग्दै आफूमाथि कुटपिट भएको घटना पटक–पटक माइतमा सुनाउँथिन् । घरमा यातना पाएपछि अघिल्लोसाता माइत आएकी रञ्जनालाई लिन २१ असोजमा श्रीमान् भीम नै आए ससुराली आए । तर, दसैंमा घर गएकी रञ्जनाको शव आइतबार बिहान खोलामा भेटियो । उनको घरपक्षकाले २३ असोजमै हत्या गरेको माइती पक्षको दाबी छ ।

२४ असोज शुक्रबार बजार भर्न विराटनगर आएका भीमले सासूआमा र काकालाई घर पठाउन भन्दै छिमेकीलाई सन्देश पठाएका थिए । छोरी लिन आउनु भन्दै सन्देश छाडेर गएका भीमको परिवार शनिबार बिहानै घरमा ताला लगाएर भागेको थियो । ‘उता छोरीको हत्या गरी यहाँ आएर लिन बोलाएको रहेछ’ छिमेकी लक्ष्मीदेवी रायले भनिन्, ‘मागेजति दाइजो नपाउँदा हत्या गरिसकेका रहेछन् ।’

प्रहरीले शव छोएन, हत्या आरोपी माइती पक्षले समाते

शुक्रबार भीमले ससुरालीलाई छोरी लिन बोलाएपनि शनिबार बिहानै रञ्जनालाई बेपत्ता बनाएको हल्ला गाउँभरि फैलियो । माइती पक्ष बुझ्न जाँदा घरमा ताला लागेको थियो । खोजी गर्दै जाँदा अररिया जिल्लाकै भाण्टाबारी भन्ने स्थानमा भीम र उनका आफन्तहरू भेटिए । सोधिखोजी गर्दा हत्या गरी हातखुट्टा बाधेर सीमावर्ती क्षेत्र जोगवनीदेखि करिब ४ किलोमिटर दक्षिण अररिया जिल्लास्थित परवाना नदीको मीरगन्ज पुल नजिकै फालेको बताए ।

आइतबार बिहानै आफन्तहरू शव खोजीदिन भन्दै जोगवनी प्रहरी थाना पुगे । झिसमिसेमा पुगेका आफन्तको कुरा प्रहरीले सुनेन् । ‘आइतबार बिहानै थाना जाँदा भारतीय प्रहरीले हप्कीदप्की गरे’, लक्ष्मीदेवीले भनिन्, ‘बल्लबल्ल साढे १ बजे खोलासम्म जान पुलिस तयार भयो ।’

खोलासम्म पुगेको प्रहरीले शव भने छोएन । आफन्तले नै उठाएर सिटीमा राखेर पोष्टमार्टमका लागि अस्पताल लगे । भारतीय प्रहरीले हत्या आरोपी पक्राउ गर्न चाहेको थिएन तर माइती पक्षले नै पक्राउ गरी रञ्जनाका श्रीमान् भीमबहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई प्रहरीमा बुझाएको स्थानीय विशाल सहनीले बताए । पक्राउ परेकाहरूमाथि भारतीय प्रहरीले सोमबार मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ ।

Loading...