fbpx

हरियाली पार्क बन्दै विराटनगर

यज्ञ अधिकारी
रङ्गेली, २८ असोज । विराटनगर महानगरपालिकाले सहरको सौन्दर्य बढाउन विभिन्न पार्कहरू निर्माण गर्ने भएको छ । महानगरपालिकाले हाटखोलमा पाँच जना पूर्वप्रधानमन्त्रीहरूको सालिक राखेर पार्क बनाउँदैछ । यसैगरी केही स्थानमा आइल्याण्ड र स्ट्रिट पार्कहरू निर्माण गर्दैछ ।

विराटनगर–२ मा पनि स्ट्रिट पार्क निर्माण गरिने भएको छ । विराटरात्री माध्यमिक विद्यालय छेउबाट सरस्वती मन्दिर जाने बाटोसम्म स्ट्रिटपार्क निर्माण हुनेछ । यसैगरी ‘ए’ र ‘बि’ प्लटमा पनि पार्किङसहितको ब्यूटी पार्क निर्माण हुनेछ ।

महानगरपालिका सामुदायिक विकास महाशाखा प्रमुख पुनम दाहालका अनुसार महानगरमा पार्कहरू निर्माण गर्न चालु वर्षमा ५ करोड रुपैयाँ विनियोजन भएको छ । हाल नगरपालिकाले कुन पार्क कहाँ बनाउने भनेर स्थान निधो गर्ने र डिपिआर गर्ने काम सुरु गरेको छ ।

सामुदायिक विकास महाशाखाका अनुसार विराटनगर–१ मा बालबालिका लक्षित गरेर निर्माण गरिएको बालउद्यानको थप स्तरोन्नती गर्ने तैयारी भइरहेको छ । यसैगरी विराटनगर–७ मा रहेको इको पार्कलाई पनि अझै रमझम पूर्ण बनाइने छ ।

विराटनगर–१५ मा रहेको स्वस्थ्य चौकीपछाडि वाटर फन पार्क निर्माण सुरु भएको छ । उक्त पार्क चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने छ । विराटनगर महानगरपालिकाले ड्रिम प्रोजेक्टको रूपमा गुरुकुल नाटक घरदेखि पश्चिमरहेको जमीनमा पूर्वप्रधानमन्त्रीहरू विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, नागेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारीको शालिक राखेर आर्कषक पार्क निर्माण गर्दैछ । त्यसका लागि चालु बर्षमा ५० लाख रुपैयाँ विनियोजन भइसकेको छ ।

विराटनगरमा राजवंशी चौकदेखि पश्चिम जाने सडकको बीचमा आइल्याण्डको रूपमा पार्क निर्माण गरिएको छ । त्यसैगरी चाँदनी चोकमा शिरोमणि पुस्तकालय रहेको स्थानमा पनि आइल्याडको रूपमा पार्क निर्माण गर्ने योजना महानगरको छ । साथै महेन्द्र मोरङ कलेज जाने बाटोमा रहेको देवकोटा स्मारकलाई पनि सानो पार्कको रूपमा विकास गरिनेछ ।

यसबाहेक विराटनगर महानगरमा रहेका चौकहरूलाई सौन्दर्यकरण गर्ने योजना पनि महानगरको छ । सहरका चौकहरूलाई सफा–सुग्गर राखेर साँझ–बिहान रमाउने ठाउँका रूपमा चौकहरूलाई स्थानीयकै सहयोगमा विकास गरिनेछ । हाल विराटनगरमा धमाधम ढलनाला र सडक स्तारोन्नतिको कार्यहरू भइरहेको छ । अन्तिम चरणमा रहेको निर्माण कार्य सकिएसँगै महानगरमा धमाधम हरियाली पार्कहरू पनि निर्माण हुनेछन् । जसले शहरको सौन्दर्य बढाउने र घुमफिर गर्न पनि सहज हुनेछ ।

सहर सधैँ व्यस्त हुन्छ । घुमफिर गर्ने ठाउँको पनि अभाव हुन्छ । कंकृटका घरहरूको जंगल जस्तो सहरमा प्रकृतिसँग रमाउने ठाँउ हुँदैन । अकोतिर अग्ला–अग्ला घरहरूले मात्र सहरको सुन्दरता झल्काउँदैन । यसैले सहरमा सुस्ताउने चौतारीहरू अति आवश्यक हुन्छ । मन बहलाउने बगैँचा हुनु पर्छ । त्यसैले प्रत्येक सहरमा बगैँचा (पार्क) हुनु आवश्यक छ । ‘प्रकृतिसँग रमाउन मिल्ने पार्क भएको भए इटहरी, धरान, भेडेटारतिर विराटनगरबासीले भौतारिनु पर्ने थिएन’, विराटनगरबासी ध्रुब बस्नेतले भने ।

Loading...