fbpx

सानो जातको भन्दै होटलमा चिया पिउन नदिनेविरुद्ध जाहेरी दर्ता

विराटनगर, २८ असोज । सानो जातको भनेर होटलमा चिया पिउन बञ्चित गर्दै छुवाछुत गर्ने दुई जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बस्ने ६० वर्षीय डिमोने कामीले सोही नपा–४ नम्बर वडाका ६५ वर्षीय रुद्रबहादुर कटुवाल र ९ नम्बर वडाका ४५ वर्षीय टलकबहादुर पाण्डेविरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा सार्वजनिक होटलमा बसेर चिया खान नदिएको भन्दै किटानी जाहेरी दर्ता गराएका हुन् ।

पीडित डिमोने कामीले प्रहरीमा दर्ता गराएको जाहेरीमा आफूलाई सार्वजनिक स्थलमा खान–पिउन नदिएर जातीय छुवाछुत गरेकोले पीडकहरूलाई जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कानूनी कारवाही गर्न माग गरेका छन् ।

जातीय विभेद तथा छुवाछुत कसुर सजाय ऐन २०६८ संशोधित २०६२ अनुसार सार्वजनिक र निजी कुनै पनि स्थानमा जातीय छुवाछुत गर्नेलाई चार वर्षसम्म कैद, ५० हजार रुपैयाँसम्म जरिवाना र पीडितलाई तीन लाख रुपैयाँसम्म क्षतिपूर्तिको व्यवस्था छ ।

यसरी बञ्चित गरिएको थियो सानो जाति भन्दै होलटमा चिया पिउन

इलाका प्रहरी कार्यालय पथरीमा दर्ता भएको जाहेरीअनुसार २० असोज दिउँसो पथरीशनिश्चरे–९ स्थित शनिश्चरे बजारमा रहेको टलकबहादुर पाण्डेको चिया पसलमा डिमोने कामी चिया पिउन गएका थिए । तर, आफ्नो पसलमा उच्च जातिका मान्छेहरू चिया पिउन आउने गरको भन्दै पसलधनी पाण्डेले डिमोनेलाई सानो जाति भएकोले बाहिर बसेर चिया पिउन भनेका थिए । तर, डिमोनेले कानूनमा सबै बराबर हुन्छ, विभेद र छुवाछुत गर्न पाइँदैन भन्दा कारवाही गर्न सके गर भन्दै होटलवालाले उनलाई धकेलेर बहिर निकालिदिएका थिए ।

होटलवालाले भित्र बस्न नदिएपछि बाहिर बसेर चिया पिउन लाग्दा सानो जाति भएर आफूसँगै बसेर चिया पिउन लागेको भन्दै ग्राहक रुद्रबहादुर कटुवालले जातीय गालीगलौज गर्दै छुवाछुत गरेका थिए । आफूमाथि अपमानजनक जातीय छुवाछुतको अपराध भएको भन्दै पीडित डिमोने कामीले न्यायका लागि विभिन्न दलित संघसंस्था गुहारेका थिए । दसैँको समय भएकोले तत्काल जाहेरी दिन नसकेपनि दसैँ सकिएलगत्तै दलित अधिकारकर्मीहरूको पहलमा सोमबार इप्रका पथरीमा छुवाछुत गर्नेलाई कारवाही माग्दै जाहेरी दिएको दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल लकान्दिले बताए ।

इप्रका पथरीका इन्चार्ज डिएसपी लक्ष्मी अधिकारीले छुवाछुत गर्नेहरूविरुद्ध दर्ता भएको किटानी जाहेरीअनुसार मंगलबार अदालतबाट पक्राउ पूर्जी लिएर आरोपीहरूलाई पक्राउ गरी कानूनी कारवाही अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए ।

कारवाही नभए संघर्ष थाल्ने दलित संघसंस्थाको चेतावनी

सार्वजनिक स्थलमा भएको जातीय छुवाछुतको घटनाबारे विश्वकर्मा एकता समाज मोरङ, दलित गैरसरकारी संस्था महासंघ एक नम्बर प्रदेश, दलित सेवा संघ मोरङ, मुक्ति समाज र नेपाल दलित संघले ध्यानआर्कषण गराएका छन् । उनीहरूले संविधान र कानूनले समेत अपराध घोषणा गरिसकेको जातीय विभेद र छुवाछुत गर्नेहरूलाई तुरुन्त पक्राउ गरेर कारवाही अगाडि नवढाए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

Loading...