fbpx

पत्रपत्रिकामा प्रदेश : काठमाडौं जाने यात्रुसँग मनपरि भाडा असुली

विराटनगर २८ असोज । ट्राफिक  प्रहरीले बढी भाडा लिने सवारी साधनमाथि निगरानी बढाएपनि यात्रु ठगिने क्रम भने रोकिएको छैन् । यो समाचार आज ब्लाष्ट टाइम्सले छापेको छ ।

दशैं मनाएर विराटनगरबाट काठमाण्डौं जाने यात्रुहरुलाई डिलक्स भनेर टिकट दिने र सामन्य गाडीमा पठाउने, तोकिएको भन्दा बढी भाडा लिने क्रम नरोकिएको हो । विराटनगरबाट काठमाडौं डिलक्स बसको भाडा १२ सय ४८ रुपैयाँ र सामान्य बसको भाडा ९ सय ८५ रुपैयाँ रहेको छ । डिलक्स भनेर १ हजार ३ सय रुपैयाँ भाडा लिई सामान्य बसमा काठमाडौं यात्रु लाने क्रममा मोरङको बुढीगंगास्थित नेमुवामा ना ३ ख ६९७८ नम्बरको बसलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यस्तै पहाडी जिल्ला भोजपुर, संखुवासभा, ओखलढुंगा लगायतका स्थानमा जाने यात्रुहरुसँग समेत बसहरुले बढी भाडा लिने गरेका छन् ।

विकासे काममा समन्वय नहुँदा समस्या शिर्षकमा उद्घोष दैनिकले खबर छापेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच आपसी तालमेल नगरि विकास निर्माणको काम गर्दा समस्या सृजना गर्ने गरेको छ । समन्वयको अभावमा रानी विराटनगर इटहरी धरान ६ लेन सडकले समस्यामा परेको छ । स्थानीय तहसँग समन्वय नै नगरि सडकको डिजाइन गरेर ठेक्का लगाएपछि विभिन्न समस्या देखिएको हो । विना समन्वय संघीय सरकारले सडक ठेक्का लगाउँदा समस्या देखिएको विराटनगर महानगरपालिकाका प्रशासकीय प्रमुख एकदेव अधिकारीले बताए ।

निर्माणाधिन सडक प्रदेश १ को विकासको लागि अत्यन्त महत्वपूर्ण सडकका रुपमा हेरिएपनि बस विसौनी, यात्रु प्रतिक्षालय, आदि कुरामा ध्यान दिइएको छैन् । बजार क्षेत्रमा आकासे पुल वा भुमिगत मार्ग बनाउनु पर्ने भएपनि त्यसमा ध्यान दिइएको छैन् । ४० किलोमिटर सडकको दायाँबायाँ कतै वृक्षा रोपण गर्ने व्यवस्था पनि छैन् । सडक सुरक्षादेखि पूर्वाधारका कुनै मापदण्ड नअपनाई सडकको डिजाइन गरिएको महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

विद्यालय जाँदैनन् मुसहर बालबालिका शिर्षकमा कान्तिपुर दैनिकमा समाचार छ । विराटनगरको दक्षिणतर्फ पर्ने दरैया बस्तीका ४६ घर परिवार मुसहर समुदायका कमै बालबालिकामात्रै विद्यालय जाने गरेका छन् । १२- १३ वर्षकै उमेरमा उनीहरु बुबाआमासँग काममा जाने गरेका छन् । परिवारको कमजोर आर्थिक अबस्था तथा चेतना अभावमा अभिभावकले समेत छोराछोरीलाई विद्यालय पठाउन चासो देखाउँदैनन । सो बस्तीमा शारीरिक रुपमा अपांगता भएका विराटनगर १७ का राजु क्षेत्रीले ह्विलचेयरमा धाएर निशुल्क रुपमा कखरा सिकाउने गरेका छन् ।

Loading...