fbpx

पोर्चुगललाई हराउँदै युक्रेन युरो कपमा छनौट, रोनाल्डोको ७ सय गोल पूरा

विराटनगर, २८ असोज । सन् २०२० मा हुने युरो कप छनौटअन्तर्गत साबिकको विजेता पोर्चुगल पराजित भएको छ । सोमबार राति भएको खेलमा पोर्चुगल युक्रेनसँग २–१ गोलले पराजित भएको हो ।

jh

युक्रेनले घरेलु मैदानमा पोचुर्गललाई पराजित गर्दा रोमन यरेमचुक र एन्ड्री यर्मोलेन्कोले समान एक–एक गोल गरे ।  पोर्चुगलका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । घरेलु टोलीले खेलको छैटौं मिनेटमा रोमनको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

यस्तै खेलको २७औं मिनेटमा यर्मोलेन्कोले गोल गर्दै युक्रेनको अग्रता दोब्बर बनाए । उनको गोलमा युक्रेनले पहिलो हाफभरि २–० गोलको अग्रता बनायो । दोस्रो हाफमा युक्रेन १० खेलाडीमा सीमित भयो । उसका खेलाडी तारस स्टेपेनेन्कोले खेलको ७२औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

सोही बखत पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई टोलीमा फर्काउन खोजे । तर, बाँकी समय गोल हुन नसकेपछि साबिक विजेता पोर्चुगल स्तब्ध बनेको हो । यस खेलमा पोर्चुगललाई हराएसँगै युक्रेन युरो कपमा छनौट भएको छ ।

यता, पेनाल्टीमा गोल गरेका रोनाल्डोेले आफ्नो करिअरमा ७ सय गोल पूरा गरेका छन् । पोर्चुगलका लागि ९५औं गोल गरेका उनले ७ सयौं गोलको आँकडा पूरा गरेका हुन् ।

रोनाल्डोले स्पोर्टिङ क्लब सीपीबाट ३२ खेल खेल्दा ५ गोल गरेका छन् । म्यान्चेस्टर युनाइटेडबाट २ सय ९२ खेल खेलेका उनले १ सय १८ गोल गरेका छन् । रियल मड्रिडबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गर्दा युभेन्टसबाट ३२ गोल गरेका छन् ।

Loading...