fbpx

सांसदले गरे विमानस्थलमा तोडफोड

जनकपुर २७ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद साहले सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् ।

नियमित समयभन्दा विमान ढिलो भएको भन्दै सांसद साहले विमानस्थलमा तोडफोड गरेका हुन् । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाही–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहले जनकपुर विमानस्थलमा रहेको काउन्टर तोडफोड गरे । ११ः३० बजेको बुद्ध एयरको जहाजबाट काठमाडौँ जान साह विमानस्थल पुगेका थिए । जहाज करीब एक घण्टा ढिलो भएपछि साह आक्रोशित हुँदै विमानस्थलभित्र बुद्ध एयरको काउन्टरका साथै विशिष्ठ कक्षको टेबल कुर्सी तोडफोड गरेका हुन् ।

तोडफोडबाट बुद्ध एयरको काउन्टरको सिसाका साथै कम्प्युटरमा क्षति पुगेको छ । एयर ट्राफिकका कारण विमान नियमित समयभन्दा करीब एक घण्टा ढिलो भएको बुद्ध एयरका जनकपुर प्रबन्धक विजयप्रसाद सिंहले बताए । विमान किन ढिलो भएको भन्दै आक्रोशमा आएर सांसद साहले काउन्टरमा तोडफोड गरेको उनले बताए ।

यसका साथै सांसद साहले विशिष्ठ कक्षभित्र रहेको सिसाको टेबलसमेत तोडफोड गरेको बताइएको छ । विशिष्ठ कक्षको टेबल सीसाको ग्लास फुटाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए । त्यसलगत्तै प्रहरी नायब उपरीक्षक कमाण्डमा अनुसन्धान टोली पठाएको उनले जानकारी दिए । अवरोध गरेकाले कानूनी कारवाही गर्ने तयारी भएपनि बुद्ध एयरले सांसद भएको भन्दै कारवाही नगर्न आग्रह गरेपछि उनलाई यात्रा अनुमति दिइएको उनले बताए ।

यात्रा अनुमति दिइए पनि साहले गरेका व्यवहारबारे सत्यतथ्य बुझेर के गर्नेबारे निक्र्यौलमा पुगिने प्रमुख जिल्ला अधिकारी कँणेलले बताए । सांसद साहले बुद्ध एयरसमक्ष आत्मालोचना गरेको जानकारी दिए । सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही समयका लागि तनावग्रस्त बनेको थियो ।

Loading...