fbpx

फूलमा आत्मनिर्भर बन्दै, यो वर्ष भारतबाट कम फूल ल्याइने

काठमाडौं २७ असोज । विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने कम मात्रामा फूल आयात गरिने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठीक समयमा नै तिहार परेकाले कम फूल आयात गरिने भएको हो । गत वर्ष भारतबाट ३० लाख रुपैयाँ बराबरको ३ लाख सयपत्री फूलको माला ल्याइएको थियो ।

यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभए पनि खपत हुने फूलको बढीमा सात प्रतिशत मात्रै फूल ल्याइने फ्लोरीकल्चर एसोसिएशनले जनाएको छ । गत वर्ष १७ लाख माला खपत भएको थियो । जसमध्ये २० प्रतिशत भारतबाट ल्याइएको थियो । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको माला खपत हुने एसोसिएशनको अनुमान छ ।

व्यावसायिकरूपमा फूल खेती गर्नेको सङ्ख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि भइरहेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । फूल उत्पादनको वृद्धिसँगै उपभोक्ताको माग पनि बढेको छ । स्वदेश र विदेशमा गरी वार्षिकरूपमा १ अर्ब ८५ करोडको फूलको कारोवार हुँदा तिहारमा मात्रै १ करोड फूलको कारोवार हुन्छ । तिहार आउनुभन्दा एक साता अघिबाट मात्रै आयातीत फूल ल्याउन शुरु हुन्छ ।

चाडबाड र अन्य समयमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । तिहार र अन्य मौसममा गरी ११ करोड रुपैयाँ बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टे«लिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।

नेपालमा २००७ सालदेखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

Loading...