fbpx

यस कारण दसैं मान्दैनन् धनकुटाका आठपरिया राई !

सवीन घिमिरे
नेपालमा रहेको अल्पसङ्ख्यक जातिमध्ये आठपहरिया राई पनि एउटा जाति हो । धनकुटा जिल्लाको जलहरा, खाल्सा, बेलहरा र भीरगाउँमा आठपहरिया राई जाति स्थायी रूपमा बसोबास गर्दै आएका छन् । यी जाति धनकुटाबाहेक अन्य जिल्लामा कतै बसोवास नभएको बताइन्छ ।

पूर्वी नेपालको धनकुटा जिल्लाको जलहरा, खाल्सा, बेलहरा, सान्ताङ्ग, झुण्डुवा र भीरगाउँमा बसोबास रहेको आठपहरियाहरू दसैं मनाउँदैनन् । उनीहरू दसैं आउनासाथ जंगबहादुर राणाको समयमा मारिएका आठपरिया जातिका दुई शहीद रामलिहाङ र रिदामाको स्मरण गर्छन् ।

आठपरिया जातीका बुढापाकाका अनुसार दसैँलाई उनीहरूले कालरात्रीको रूपमा स्मरण गर्ने गरेका छन् । किनभने, ती रामलिहाङ र रिदामालाई दसैं नमनाएकै कारण झुन्ड्याएर मारिएको थियो भन्ने मान्यता आठपहरिया समुदायमा छ । रामलिहाङ र रिदामा आठपहरियाका पुजारी थिए । दुवैले अनिवार्य रूपमा दसैं मनाउन जारी गरिएको सरकारी आदेशको अवज्ञा गरेपछि राणाहरूको आदेशमा झुन्ड्याएर मारिएको झुन्ड्वा गाउँका स्थानीय हर्कबहादुर राईले बताए ।

धनकुटाको चुलीवन नजिकै झुण्ड गाउँ छ । राणाकालमा मानिस झुन्ड्याएर मार्ने ठाउँ भएकोले यो ठाउँको नामपनि झुन्ड्वा गाउँ राखिएको हो भन्ने भनाइ छ । आठपरियाहरूले चुलीवनमै ती दुई शहीदहरूको स्मारक बनाएका छन् । धनकुटाको चुलीवनालाई शहीद रामलिहाङ्ग र रिदामा स्मृतिपार्क भनेर घोषणा गरिसकिएको छ ।

राज्यविस्तारको क्रममा शाह राजाहरू विभिन्न क्षेत्रमा प्रवेश गरे । पूर्वमा वसोवास गर्ने लिम्बू, राई तथा किराँतहरूले दसैं नमान्दा गोरखा राजाबाट विभिन्न कारवाहीहरू हुने भएकोले दसैं पर्व केही जातिहरूलाई जबर्जस्ती मान्न लगाइएको र आठपहरिया जातिलाई पनि जबर्जस्ती मनाउन लगाइएको प्रमाण रहेको राजा राजेन्द्रविक्रम शाहको समयमा जारी एक रुक्काको फोटोकपी धनकुटा, ताङखुवा (हाल धरान) निवासी मुन्धुम तथा इतिहासविद भरत तुङघङसँग रहेको जानकारी रहेको छ ।

asd

वि सं १८४३ मा रणबहादुर शाहले दसैं अनिवार्य मान्नु भनेर लालमोहर दिएका थिए । सोही लालामोहोर अनुसार दसैं नमान्नेहरूलाई शासकहरूबाट कारवाही गर्न सुरु गरियो । दसैं सकिएपछि दसैं माने की मानेन् भनेर फेरिवाला जोगीको भेषमा जय गोरखनाथ भन्दै जासुस गर्न शाह राजाले पठाउँथे । गाउँगाउँ जोगीको भेषमा पुगेका गोरखनाथहरूले गरेको खबरीको आधारमा दसैँ नमान्नेहरूलाई विभिन्न किसिमका कारवाहीहरू हुने गर्दथ्यो । यसैले आफ्नो चलिएको चाडलाई मासेर दमन गरी जबर्जस्ती दसैँ मनाउन लगाएको भन्दै आठपहरिया राईहरूले स्वरुप दसैँ मनाउँदैनन् ।

आठपहरियाहरूको चाडपर्व

सैले आठपहरिया राईहरूका मुख्य–मुख्य पर्वहरू ओमडाक, बैशाखी चाड, चामनुंगीवा भदौरे चाड र छोङ्ला राङमावा मङ्सिरे चाड हुन् । यस अवसरमा बाराहजी र मार्गको नाममा पूजापाठ, आराधना प्रार्थनाहरू संयुक्त रूपमा गरिन्छ । दुवैका नाममा सामूहिक रूपमा आठपहरिया राईहरू भक्ति गीत गाउँदै आराधना गर्ने र नाचकीर्तनहरू गर्दछन् । आठपहरिया राईहरूको महत्त्वपूर्ण चाडमध्ये ‘चामनुंगी’ भदौ महिनामा पर्दछ ।

चामनुंगीको अर्थ नयाँ वस्तु घरमा भित्र्याउनु हो । भाद्र महिनामा खेतबारीमा पाकेको मकै घर भित्र्याउनुपूर्व पितृलाई चढाउनु भन्ने मान्यता रहेको छ । पितृलाई मकै र धान चढाउने रीतलाई नै आठपहरिया भाषामा ‘चामनुंगी’ भनिन्छ । चामनुंगी चाडमा आ –आफ्नो घरभित्रको मूलदेवताहरूलाई पूजाआजा गर्ने चलन छ । पूजा गर्दा जाँड, रक्सी, फुल, लसुन, सुँगुरको मासु चढाइन्छ । त्यसबेला आफ्नो परिवारमा सुख–शान्ति मिलोस् भनेर पूजाआजा गर्ने चलन चलाइएको हो । चामनुंगी पर्व घरको मूलचुलोमा पूजाआजा गरिन्छ । यो चाडको बेलामा गाउँघरमा पीङहरू पनि खेलिन्छ ।

यस जातिको अर्को महत्त्वपूर्ण चाड ‘ओमडाक’ हो । यो बैशाख महिनाको बौद्ध जयन्तीको समयमा पर्दछ । ओमडाक चाडमा ‘पाङदाङ्वा’को पूजाआजा गरिन्छ । ओमडाक एक हप्तासम्म मानिन्छ । पहिलो दिनको बिहानीपख आठपहरिया राईहरू सबै नुवाईधुवाई धुले पूजा गर्छन् र खीर खान्छन् । पाङ्दाङ्वाको पूजा गर्दा चारै सुरुमा दियो कलश राखिन्छ । केराको पातमाथि जाँड–रक्सी, मासु, फूल अक्षता र अन्य परिकारको मिश्रणले पूजा गरिन्छ । चढाइएको सबै खानेकुरा सोही ठाउँमा बसेर प्रसादको रूपमा खाइन्छ । ओमडाकपछि बालीनाली सप्रन्छ भन्ने जनविश्वास छ । यो चाडको समयमा धनुषबाण हान्ने खेलको आर्कषण पनि हुन्छ ।

आठपहरिया राईहरूको समूदायमा वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उतार्ने ‘वाडाङ्गी पर्व ’ पनि महत्त्वपूर्ण पर्व हो । वर्षभरिमा मृत्यू हुनेका परिवारमा सम्पूर्ण सदस्य तीनदिन हिडेर सुनसरीको वराहक्षेत्रस्थित कोकाहाखोलामा नुहाएर कपाल, दाह्री, खौरेर भगवान् बराहको दर्शन गरी वरखी फुकाउने चलन छ । यो चाडमा बुबाआमाको दुःख बोक्नेले कपाल काट्ने, ‘दसि’ सहित केश बगाउने र छोराछोरी मर्नेका बुवाआमा आएर छोराछोरीको नाममा दसि बगाउने प्रचलन छ । वरखी सम्पन्न गरी चौथो दिन घर फर्किएर नाचगान गरेपछि यो चाड सकिन्छ । यस अवसरमा भक्ति गाउने, ढोल, मारूनी, डल्लो नाच नाँच्ने गरिन्छ । साथै रागाँको मासु, कुभिण्डो र फिलुंगेको अचारलगायतका परिकारहरू खाने गरिन्छ ।

Loading...