fbpx

मिर्गी लागेको बेलामा गन्हाएको मोजा सुँघाउनुभन्दा पनि यसो गरौँ

विराटनगर, २७ असोज । मिर्गी लागेको बेलामा गन्हाएको मोजा सुँघाउँदा जुरुक्क उठेको धेरैजसोले देख्ने गरेको हुन्छ । त्यही अरुले गरेको जस्तो देखेको भरमा धेरैजसो मानिसहरूलाई मिर्गी लागेको बेलामा गनाएको मोज तथा जुत्ता सुँघाउनेसमेत गरिन्छ । के यसो गर्दा साँच्चै काम गर्छ त ?

डा. कल्याण सुबेदीका अनुसार मिर्गी अर्थात् विज्ञानको भाषामा सिजर धेरैलाई ३० सेकण्ड देखि १ मिनेटसम्म हुने गर्छ । मिर्गी लाग्दा अकस्मात होस गुमेर ढल्ने, शरीरमा झट्का परेको जस्तो हुने, शरीर कस्सिने, मुर्छा पर्ने, काप्न थाल्ने, झस्कने, ऐंठन हुने जस्तो हुन सक्छ । त्यसपछि बिरामी थकित भएका कारण निदाउने गर्छ वा अर्धचेत अवस्थामा भएको हुन्छ । जसरी एउटा सामान्य मान्छे सुतेको बेलामा कसैले नाकमै ल्याएर गनाएको कुरा सुँगाउँदा उठ्ने गर्छ, उनीहरू पनि त्यसरी नै उठेका हुन् । गनाएको मोजा तथा जुत्ता सुँघाउँदा उनीहरुलाई सन्चो भएको भने होइन ।

यदि कसैलाई आफू अगाडि मिर्गी चढेर मुर्छा परेर ढलेको देखेमा डा. सुबेदीले उक्त व्यक्तिलाई मद्दत गर्नका लागि यी ४ उपाय दिएका छन् ।

पहिलो– मिर्गी लागेको व्यक्तिलाई सुरुमा कुनै सुरक्षित ठाउँमा सर्ने गर्नु पर्छ । टाउको झट्कीएर ढुंगामा वा रोडमा टाउको ठोकिएको छ भने बिस्तारै तानेर चौरमा वा कुनै नरम ठाउँमा उक्त व्यक्तिलाई सार्नु पर्छ । त्यसो गर्न नसके झोला, कपडा, सिरानी वा कुनै नरम सामान टाउकोमुनि राखिदिए पनि हुन्छ ।

दोश्रो– बिरामीलाई घोप्टो वा उत्तानो नपारी कन एकापट्टि फर्काएर राख्ने गर्नु पर्छ । यसले गर्दा मुखमा भएको रियाल वा खाइरहेको कुरा वा भुँडीबाट निस्केको कुरा फोक्सोमा जान नपाई बाहिर निस्कने गर्छ ।

तेस्रो– आफू पनि शान्त भएर नआत्तिकन बिरामीसंगै एकछिन होस नआएसम्म बस्ने गर्नु पर्छ । कति सेकेन्ड तथा मिनेटसम्मको लागि मिर्गी लागेको भनेर ख्याल गर्ने । सहयोग गर्नेभन्दा के भएको भनेर हेर्नेको भिँड लागेको छ, भने उनीहरूलाई त्यहाँबाट हटाउनु पर्छ ।

चौंथो– प्रायः १ मिनेटमा वा बढीमा ३–४ मिनेटमै मिर्गी रोकिन्छ । मिर्गी लगत्तै शरीर निकै थकित हुने हुदा केहिबेर बिरामी निदाउन पनि सक्छ । बिरामी उठेपछि उसले औषधि खाएको वा नखाएको सोधेर अस्पतालमा लैजानु पर्छ । यदि, ५ मिनेटभन्दा पनि धेरै समयसम्म यस्तो भएमा तुरुन्त नजिकैको अस्पताल लैजानु पर्छ ।

Loading...