fbpx

उज्यालो विराटनगर महानगरभित्रको अँध्यारो मुसहर बस्ती

विराटनगर, २७ असोज । शिक्षितहरू बसोबास गर्ने उज्यालो विराटनगर महानगरभित्र एउटा यस्तो अशिक्षित बस्ती छ, जहाँ ४ कक्षाभन्दा धेरै पढ्ने अझै कोही पनि छैनन् । विराटनगर महानगरपालिका–१६ दरैयास्थित नेपाल–भारत सीमा क्षेत्रमा दशगजासँगै जोडिएको मुसहर (ऋषिदेव) बस्तीमा ४ कक्षाभन्दा धेरै अझै कोही पनि भेटिँदैनन् ।

भर्खर यहाँका बालवालिकाहरू लायन्स क्लबले बनाइदिएको बालकेन्द्रमा जेनेतेन अक्षर चिन्न खोज्दैनन् । केही बालबालिकाहरू मात्र अलिपर रहेको श्रीमाया आधाभूत विद्यालय जान थालेका छन् । तर, करिब ५० घरिपरिवार ऋषिदेवहरू बसोबास गर्ने यो बस्तीमा कक्षा ४ सम्म पढ्ने जम्मा ४ जना मात्रै छन् । कक्षा ४ मा पढ्ने काजल ऋषिदेवका अनुसार उनीसँगै उनका साथीहरू खुश्बु, रामु र आशिष पनि सँगै पढ्छन् ।

ह्वीलचेयरमा धाएर आपांगता भएका व्यक्ति राजु क्षेत्रीले सिकाउँछन् कखरा

लायन्स क्लबले निर्माण गरिदिएको बालकेन्द्रमा दिनको एक पटक ह्वीलचेयरमा धाएर रानी बर्मेली बस्तीमा बसोबास गर्ने आपाङ्गता भएका व्यक्ति राजु क्षेत्रीले कखरा सिकाउने गरेका छन् । गाउँ डुल्ने क्रममा शिक्षित नगरपालिकाभित्र अँध्यारो अशिक्षित बस्ती देखेपछि आफूले बालबालिका भेला पारेर रुखको छहारी मुनी पढाउन थालेको उनले सुनाए । उनका अनुसार खुल्ला आकाशमुनि बालबालिकाहरू पढेको देखेपछि एक वर्षअघि लायन्स क्लबले सानो घर वनाइदिएको छ । जसले केटाकेटी भेला गरेर पढाउन सहज भएको स्वयंसेवक राजुले बताए ।

aa

उनका अनुसार अति पिछडिएको र महादलितभित्र पर्ने ऋषिदेवहरूमा चरम गरिबीले गर्दा पढ्नु–पढाउनुपर्छ भन्ने चेतना छैन । भएकाहरूले पनि आर्थिक अभावले गर्दा निरन्तर पढाउन सक्दैनन । यसैले बालबालिकाहरु एक–दुई वर्ष जेनतेन बिद्यालय गएपनि बीचैमा पढाइ छाडिदिन्छन् । आर्कषणको अभावमा बालकेन्द्रमा पनि सबै बालबालिकाहरू नियमित पढ्न आउँदैनन् ।

पिछाडी पारिएकाहरूलाई शिक्षाको महत्त्व बुझाउन आफू कच्चीबाटोमा आधा घण्टा ट्राईसाइकल चलाएर ऋषिदेव बस्तीमा निःशुल्क पढाउन आइरहेको स्वयंसेवक राजु क्षेत्रीले बताए । हाल बालकेन्द्रमा करिब २० जना वालबालिकाहरूले कखरा सिक्दैछन् । बाध्यता सुनाउँदै उनले भने, ‘तर शैक्षिक सामाग्रीको अभाव अनि सुकिला लत्ता–कपडा, जुत्ता–चप्पलको अभावमा सबै जना नियमित पढ्न आउँदैनन ।’

यहाँ बालकहरू किशोर उमेरमा पुगेपछि आमाबाबुसँगै जनमजदूरीमा जान थाल्छन् । कोही धेरै कमाउने भनेर भारततिर हुरिन्छन् । बालिकाहरू किशोर उमेरमै बिहे गर्छन् र चाँडै सन्तान जन्माउँछन् ।

दसगजासँग जोडिएको गाउँ भनेर पुगेन जनता आवास कार्यक्रममा

कक्षा ३ सम्म पढेका अगुवा ७० वर्षीय मोहन ऋषिदेवका अनुसार सीमा क्षेत्रको दसगजा क्षेत्रको बस्ती भनेर सरकारी निकायहरूले पनि विकासमा चासो दिँदैनन् । यसैले ५० वर्षदेखि बसोबास गर्दै आएको सिंगो ऋषिदेव समुदाय शिक्षा, स्वास्थ्य, पोषण आदिको आधारभूत अधिकारबाट बञ्चित छ । विराटनगर महानगरपालिका–१६ नम्बर वडाध्यक्ष मनोज सुब्बा अभिभावकहरूमा पढ्नु–पढाउनुपर्छ भन्ने चेतना विकास हुन नसक्दा ऋषिदेव बालबालिकाहरू शिक्षामा कमजोर भएको बताउँछन् ।

उनले दसगजासँग जोडिएको बस्तीमा भारतले किचलो उचालिरहने भएकोले नगरपालिका र सांसदहरूले अँध्यारो बस्तीमा लगानी गर्न नसकेको बताए । मोरङको ५ नम्बर निर्वाचन क्षेत्रमा पर्ने उक्त बस्तीमा प्रदेशका २ र संघका १ जना सांसद निर्वाचित छन् । तर, हालसम्म त्यहाँ गरिब दलितका लागि भनिएको जनता आवास कार्यक्रम पुगेको छैन । सीमानामा आफ्नोतर्फ भारतले बाटो बनाउने बहानामा अग्लो बाँध बनाएपनि हरेक वर्षको वर्षायाममा यो बस्तीका सबै ऋषिदेवहरू डुवानमा परेर विस्थापित हुन्छन् । डुबानले गर्दा विस्थापित भएर हरेक वर्ष विराटनगर जुटमिलको चौरमा गएर बस्नु उनीहरूको नियमित बाध्यता भइसकेको छ ।

Loading...