fbpx

खसीको मासुका लागि चर्चित हुँदै कञ्चनबारी चौक

यज्ञ अधिकारी
रङ्गेली, २७ असोज । विराटनगरको कञ्चनवारी चौक खसीको ताजा मासुका लागि चर्चित बनेको छ । स्वास्थ्य र ताजा खासीको मासु खरिद गर्ने ग्राहकहरू आउनेक्रम बढेसँगै कञ्चनवारी चौक ताजा खसीको मासुका लागि चर्चित बनेको हो । चाडवाडको समयमा त कञ्चनवारी चौकमा खसीको मासु खरिद गर्ने ग्राहकहरूले दिनभरि लाइन बस्दा पनि मासु पाउन गाह्रो हुन्छ । त्यहाँ विराटनगरका अन्य स्थानका मानिसहरू पनि ताजा खसीको मासु लिनका लागि पुग्ने गर्दछन् ।

ग्राहकहरू बढैसँगै कञ्चनबारी चौकमा खसीको मासु बिक्री गर्ने पसलहरू पनि बढेका छन् । पहिले एउटा मात्र मासु पसल रहेको यो स्थानमा चारवटा फ्रेस हाउस थपिएका छन् । चोकमा रहेकामध्ये सबैभन्दा बढी कारोबार गर्ने मनोज फ्रेस हाउसले यस वर्षको दसैँमा ५ सय वटा खसी काटेर मासु बेचेको छ । उक्त फ्रेसहाउसका संचालक मन्टुराम राजवंशीले दसैँमा २० देखि २८ किलोसम्मका पाँच सय वटा खसी काटेर मासु बिक्री गरेको बताए । उनीहरूले दसैँको लागि झापा, मोरङ, सुनसरीसहित पहाडी जिल्लाबाट खसी संकलन गरेर ल्याएका थिए ।

कञ्चनबारी चौकमै रहेको चौधरी फ्रेसहाउसले यो दसैँमा २ सय वटा खसीको मासु बिक्री गरेको छ । कञ्चनबारी चोकमा रहेको गोर्खाली र भीआइपी फ्रेस हाउसले पनि एक सयभन्दा बढी खसीको मासु बिक्री गरेका छन् । कञ्चनबारीभन्दा पहिले खसीको मासुका लागि विभिन्न स्थानहरू चर्चित थिए । तर, पसलेहरूले विश्वास गुमाउँदा र मासु पसलहरू अन्यत्रै सर्दा मानिसहरू गुणस्तरीय र ताजा मासु बिक्री गर्ने स्थानको खोजी गर्ने गर्दछन् ।

विराटनगरको बरगाछी चौक, भृकुटी चौक, तीनपैनी चौक, राजवंशी चौक, हाटखोला, बसपार्क, रानी क्षेत्र र गुद्री बजारमा पनि खसीको मासु बिक्री हुने चर्चित स्थान हुन् । अझै पनि बरगाछी र भृकुटी चौकमा रहेका फ्रेस हाउसमा कञ्चनबारीपछि बढी खसीको मासु बिक्री हुनेगर्छ । यसैगरी तीनपैनी चौक पनि खसीका मासुका लागि चर्चित छ ।

दसैँमा खसिको मासु खाने प्रचलन रहेको र सबैले रुचाउने भएकोले अरु बेलाभन्दा दस गुणा बढी खसीको मासु बिक्री हुने गरको मासु पसलेहरू बताउँछन् । यसबाहेक नयाँ बर्ष र होली पर्वका बेला पनि अत्यधिक खसीको मासु बिक्री हुनेगर्दछ । खसीको मासु नरुचाउने, खरिद गर्न नसक्ने र नपाउनेहरूले कुखुरा, हाँस र परेवाको मासु खाने गरेका छन् ।

Loading...