एक घण्टा ओलीसँग वार्ता गर्दै सी, विभिन्न सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं २६ असोज । दुईदिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आइतबार पनि निरन्तरता दिने भएका छन् ।

आइतबार (आज) सीले नेकपा नेताहरूसँग छलफल गर्दै छन् । नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको छ । त्यस पछि प्रचण्ड र सीको मात्रै गोप्य भेट हुने छ ।

नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । भेटका लागि १ घण्टाको समय छुट्याइएको छ । द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सी फर्किने बेलामा ३ घण्टा एयरपोर्ट बन्द हुने छ ।

उनले शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् ।

Loading...