Rumpum

Rumpum Advertisement

चीनसँग मुख्य आशा ,विराटनगर–किमाथाङ्का सडक

चीनसँग  मुख्य आशा ,विराटनगर–किमाथाङ्का सडक

कोशी अनलाईन व्यूरो
विराटनगर, २५ असोज । चिनिया राष्ट्रपति सी जिनफिङको भ्रमणका क्रममा त्रिदेशीय व्यापारीक मार्ग सञ्चालनमा जोड दिन प्रदेश १ का व्यावसायीले आग्रह गरेका छन् ।

प्रदेश १ को राजधानी विराटनगरदेखि चिनियाँ सिमाना किमाथाङ्कासम्मको उत्तरदक्षिण त्रिदेशिय व्यापारीक मार्ग निर्माणमा सहयोग गरि चाँडो सञ्चालनमा ल्याउन पुर्वका उद्योगी व्यपारीहरुले आग्रह गरेका हुन ।

२३ वर्षपछि नेपालमा हुनलागेको चिनिया राष्ट्रपति स्तरीय भ्रमणका क्रममा प्रदेश १ का व्यावसायीले त्रिदेशिय व्यपारिक मार्गको स्तरउन्नती गरी सञ्चालनमा चीनले सहयोग गर्ने आपेक्षा गरेका छन ।

भारतको जोगबनीसँगै जोडिएको विराटनगररानीदेखी चीनको सिमानासँग जोडिएको उत्तरी किमाथाङ्का सडक सञ्चालनमा आए नेपाल भारत र चीनले फाइदा लिन सक्ने नेपाल उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य अभिनाष बोहरा बताउँछन् । चीनबाट आयत भएका मध्ये ३० प्रतिशत भन्दाबढी सामाग्री प्रदेश १ मा खपत हुने बताउँदै उनले किमाथाङ्का रानी सडक सञ्चालनमा आए प्रदेश १ ले धेरै आर्थिक लाभ लिन सक्ने बताए ।


किमाथाङका रानी व्यापारीक मार्ग निर्माण गर्न सके चीनबाट आयात हुने सामाग्रीको लागत पनि कम हुने र आयात निर्यातमा पनि सहजता आउने बोहरा बताउँछन् । सस्तोमा चिनिया प्रविधि भित्र्याउन सके भौतिक पूर्वाधार निर्माणमा सहज हुने उनको भनाई छ । चीनबाट उद्योग, पर्यटन र यातायातका पूर्वाधार क्षेत्रमा लगानी भित्रिनसकेमा अझै फाइदा हुने उनको बुझाई छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा चिनिया पक्षले हाइड्रोपावर क्षेत्रमा लगानी गरे नेपालले ठूलो लाभ लिन सक्ने मान्दछन । रानी–किमाथाङ्का सडक प्रदेश १ को लाइफ लाइन बन्ने बताउँदै उनले पूर्वाधार क्षेत्रमा चीनले लगानी गर्नु उपयुक्त हुने बताउँछन् ।


रानी– किमाथाङ्का सडक निर्माण गरी उत्तरी क्षेत्रको भन्सार सञ्चालनमा आए नेपाली कृषि उत्पादन सहज रुपमा चीन निकासी गर्न सकिने उद्योग वाणिज्य संघ प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउत बताउँछन् । उत्तरी क्षेत्रमा यातायातको सहजता भए प्रदेश १ को कृषि तथा जडिबुटी निर्यात गरी आत्मनिर्भर बन्न सहयाग पुग्ने उनले बताए । ‘कृषि तथा जडिबुडी निर्यात गरी प्रदेश १ ले फाइदा लिन सक्छ ।’ उनी भन्छन् ‘ उत्तरी बजार ठूलो छ, किमाथाङ्कासम्म सडक सञ्जाल विस्तार भए प्रदेश १ ले धेरै फाइदा लिन सक्छ ।’ पूर्व पश्चिम रेलमार्ग, पर्यटन पूर्वाधारमा चिनियाँ लगानी भित्रिए नेपाललाई धेरै फाइदा पुग्छ , राउत भन्छन ।


उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे प्रदेश १ को मुख्य एजेण्डा रानी किमाथाङ्का सडक भएको बताउँछन् । सडक पूर्वाधारसँगै पूर्व पश्चिम रेलमार्ग र उद्योग क्षेत्रमा चिनियाँ लगानी आवश्यक रहेको उनले बताए ।


अर्थबिद डा, भेषप्रसाद धमला प्रदेश १ मा चीनले लगानी गर्न सक्ने क्षेत्र ठूलो भएको बताउँछन् । व्यापारीक हिसाबले राजमार्ग, उद्योग र पर्यटन क्षेत्रमा लगानी गरे नेपालले धेरै फाइदा लिने उनको भनाई छ । विराटनगर रानी किमाथाङ्का सडक निर्माण सम्पन्न भए चिनियाँ पर्यटकलाई आर्कशित गर्न सकिने धमला बताउछन् । पहाडी क्षेत्रमा केबलकारसहितका संरचना निर्माण गर्न सके चीनबाट पर्यटन भित्र्याउन सहज हुने उनको भनाई छ ।

चिनियाँ शहर सिगात्सेबाट सबै भन्दा छाटो दुरीको नाका किमाथांङका

चीनको मुख्य शहर सिगात्सेबाट सबै भन्दा छोटो दुरीको र नाकाबाट ६ किलोटिर उत्तरमै मुख्य राजमार्ग फेला पर्ने किमांथाङका नाका निर्माणमा प्राथमिकता दिन पटक पटक उधोगी व्यपारीहरु मात्र नभएर धनकुटा , तेह्रथुम , शंखुवासभाबासीहरुले माग गर्दै आएका छन । दक्षिणमा भारतीय बजार जोगबनीसँग जोडिएको यो सडक उत्तरमा ३ सय ४० किलोमिटरपछि चीनसँग जोडिन्छ । किमांथाका नाकादेखी ४० किमि उत्तरमा चीनको सागा बजार भेटिन्छ ।


शंखुवासभाको फोकसिन्दादेखी किमाथांङका सम्मको ७६ किलोमिटर टयाक खुलेको छैन । यसैगरि यो मार्गमा शंखुवासभाको खाँदबारीदेखी फोकसिन्दासम्म ७६ किलोमिटर सडक कच्ची छ । यो मार्गको दक्षिण नाका बिराटनगरदेखी धनकुटाको हिलेसम्मको १०४ किलोमिटर पक्की सडक छ । हिलेदेखी सभाखोलासम्मको ५२ किलोमिटर ग्राभेल र सभाखोलादेखी खाँदबारी सम्मको १५ किलोमिटर मात्र पिच सडक छ ।