fbpx

विश्वकप छनौट : अष्ट्रेलियासँग नेपाल ५–० गोलान्तरले पराजित

विराटनगर, २३ असोज । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले लज्जास्पद हार ब्यहोरेको छ । बिहीबार भएका खेलमा नेपालले अष्ट्रेलियासँग ५–० गोलको लज्जास्पद हार ब्यहोरेको हो ।

aaa

अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा भएको उक्त खेलमा अष्ट्रेलियालाई जिताउन जेमी म्याक्लारेनले ह्याट्रिक गर्दा ह्यारी साउट्टरले एक गोल गरे । एक गोल भने अष्ट्रेलियाले उपहार स्वरुप पाएको थियो । नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए ।

अष्ट्रेलियाले नेपालविरुद्ध पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो । अष्ट्रेलियाले खेलको छैटौं मिनेटमा म्याक्लारेनको गोलमार्फत् १–० गोलको अग्रता बनाएको थियो । यस्तै खेलको १९औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत दोस्रो गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए । यसैगरी खेलको २३औं मिनेटमा ह्यारीले गोल गर्दै अष्ट्रेलियालाई ३–० को अग्रता दिलाएका थिए ।

aa

पहिलो हाफमा ३–० गोलले अगाडि रहेको अष्ट्रेलियाले खेलको ५९औं मिनेटमा अर्को गोल गर्यो । नेपालका दिनेशले आत्मघाती गोल गरेपछि अष्ट्रेलियाले ४–० गोलको अग्रता बनायो । यस्तै खेलको ९०औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत तेस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै अष्ट्रेलियालाई ५–० गोलको जित दिलाए ।

यो जितसँगै अष्ट्रेलियाले ६ अंक बनाएको छ । समूह ‘बी’ को शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले दुई खेलमध्ये दुवै खेलमा जित निकालेको छ । यता, नेपालले सो समूहको चौथो स्थानमा छ । उसले ३ खेलबाट ३ अंक बनाएको छ । उसले ३ मध्ये एक खेलमात्र जितेको छ । नेपालले पहिलो खेलमा कुवेतसँग ७–० को गोलको हार व्यहोर्दा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । अब नेपालले आउँदो मंगलबार जोर्डनको सामना गर्नेछ ।

Loading...