अष्ट्रेलियाविरुद्ध नेपालको सुरुआती ११ सार्वजनिक, बिमल टोलीबाहिर

विराटनगर, २३ असोज । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्वको खेलका लागि नेपालको सुरुआती–११ सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक योहान कालिनको टोली नेपालको अष्ट्रेलियाविरुद्ध सुरुआती ११ सार्वजनिक गरेको हो ।

प्रशिक्षक कालिनले मुख्य फरवार्ड बिमत घर्तीमगरलाई टोलीमा राखेका छैनन् । उनको स्थानमा अभिषेक रिजाललाई मौका दिएका छन् । यसअघि चाइनिज ताइपेविरुद्ध भने बिमल टोलीमा परेका थिए ।

यस्तो छ नेपालको सुरुआती ११ :
गोलकिपर– किरण चेम्जोङ
डिफेन्डर– अनन्त तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, रञ्जित धिमाल
मिडफिल्डर–रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विशाल राई, रवी पासवान
फरवार्ड–अभिषेक रिजाल

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा अष्ट्रेलियासँग खेल्न लागेको हो । यो खेल अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

फिफा वरीयतामा नेपाल १ सय ६१औँ स्थानमा छ भने अष्ट्रेलिया ४४औँ स्थानको टोली हो । यसअघि नेपालले कुवेत र चाइनिज ताईपेसँग खेलेको थियो । अष्ट्रेलियापछि नेपालले जोर्डनसँग पहिलो लेगको खेल खेल्नेछ ।

Loading...