fbpx

राकिटिकले दिए बार्सिलोनालाई चेतावनी, भने– ‘म बेन्चमा बस्न यहाँ आएको हैन’

एजेन्सी, २३ असोज । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले क्लबलाई चेतावनी दिएका छन् । हालै एक अन्तर्वार्ताको क्रममा सन् २०१४ बाट क्याप नोउमा खेलिरहेका उनले आफू बार्सिलोनामा बेन्चमा मात्र बस्न नआएको भन्दै चेतावनी दिएका हुन् ।

३१ वर्षीय मिडफिल्डर राकिटिक सन् २०१४ मा सेभिल्लाबाट बार्सिलोना आएका हुन् । क्रेएशियालाई रसिया विश्वकपको उपविजेता बनाउन सफल राकिटिकले बार्सिलोनाबाट २ सय ७४ खेल खेलेका छन् । जसमा उनले ३४ गोल गरेका छन् । तर, पछिल्लो समय भने बेन्चमा नै सीमित रहेका उनले क्लबलाई चेतावनी दिएका हुन् ।

‘मलाई थाहा छैन अहिले यहाँ के भइरहेको छ,’ राकिटिकले भनेका छन्, ‘म यहाँको टिमबाट खेल्न चाहान्छु, टोलीमा सहभागिता जनाउन चाहान्छु । तर, निकै गाह्रो भएको छ । म क्लबका लागि जे पनि गर्न तयार छु ।’

यस्तै राकिटिकले बार्सिलोना विश्वकै राम्रो क्लब भएको तर आफू बेन्चमा नै सीमित हुनुपर्दा दुखित भएको बताए । उनले भने, ‘बार्सिलोनाभन्दा राम्रो क्लब अरु छैनन् । यो विश्वकै उत्कृष्ट क्लब हो । तर, म यहाँबाट खेल्न चाहान्छु, शहर र समुन्द्री किनार हेर्दै रमाइलो गर्न होइन । मैले क्लबमा यो विषयमा कुरा गरिसकेको छु, सबैलाई थाहा छ मसँग अन्य विकल्प पनि छन् भन्ने कुरा ।’

राकिटिकले अब पनि यस्तै अवस्था रहेमा क्लबसँग बसेर कुरा गर्ने भन्दै चेतावनी दिए । उनले भने, ‘म धेरै वटा टोलीसँग भिड्न चाहान्छु । मैदानमा खेल्नका लागि तैयार छु । यदि, अब यस्तै अवस्था रहेमा हामीले मेरो अवस्थाका बारेमा बसेर छलफल गर्नैपर्छ ।’

Loading...