fbpx

सबैले दसैंको महत्वलाई जोगाउनुपर्छ

पहिलेको दसैं ,अहिलेको दसै

अंकिता ताम्राकार

नेपालीहरुको महानचाड दसैंको चहलपहलले छोई सकेपनि यसपटक सबैको मुखमा एउटै कुरा छ ,अहिलेको दसैंमा पहिले जस्तो दसैंको महत्व र रमाइलो हुदैन ।

साँच्चै यस्तै भएको हो त ? वाल्यपनको दसैँको महत्व पहिला निकै नै हुन्थ्यो । तर, अहिले दसैँ सम्झनामा मात्र सीमित रहेको छ ।
आधुनिकिकरण, शहरीकरण, बिदेशी परम्पराको नक्कल गर्ने कारणले सानादेखि ठूलासम्म आउदाखेरि दसैँको रौनक घटिसकेको छ ।

पहिलाको ठूलो परिवार, कम आयश्रोत भएकोले मिठो मसिनो खाने कुरा, राम्रा गरगहना तथा नयाँ कपडा र सरसामान जुटाउनका लागि चाडवाड कुर्नु पर्दथ्यो ।

आफ्नो भएको अन्नवाली, हाँस, कुखुरा ,परेवा, खसी, बोका, राँँगा वेचेर वा नहुनेले सापटी लिएर समेत चाडवाड उत्साहले मनाउने चलन थियो ।

आज सानो परिवार छ । घरका कोहि सदस्य विदेशमा हुन्छन्, । सबैले केहि न केहि कमाई रहेका छन । राम्रो लगाउन र मिठो खानलाई आजकल चाडवाड कुर्नुपनि पर्दैन । अहिलेको नयाँ पुस्तालाई अभिभावकले सानैदेखि सवै आवश्यकताहरु पुर्याएकै हुन्छ ।

सानो परिवार, मोबाइल, ल्यापटप जस्ता आविष्कारका कारणले पनि वच्चाहरुमा चाडवाडमा त्यति रमाउने गरेको देखिदैन ।

पहिलाको दसैँमा मिठो खान पाउँदा कत्ति खुसि हुइन्थ्यो । अहिले जस्तो कोक, फ्यान्टा, जुस,तथा अन्य परिकारहरू हुदैनथ्यो ।

देवी देवताको मन्दिर तथा घरलाई पनि केहि दिन अगाडिदेखि नै सफा गरेर सिंगार्ने चलन थियो । घर लिप्नुपर्थ्यो, लिप्नका लागि टाढा टाढा देखि रातो माटो ल्याउने गरिन्थ्यो । घर मात्र लिप्ने गर्दा पनि दसैँ आएको महसुस हुन्थ्यो । पिङ्ग बनाएर खेलिन्थ्यो, चंगा बनाएर उडाइन्थ्यो । लट्टाईमा चंगा बनाउनका लागि आफुभन्दा ठुलासंग घरमै बनाएर सानाहरु रमाउने गर्थे ।

व्यस्त समय हुदाहुदैपनि पहिलेको दसैँमा छुट्टै किसिमको आनन्द हुन्थ्यो । आफन्तकोमा टिका थाप्नजाने र टाढाटाढा सम्मको इष्टमित्र, नातागोता, कुटुम्वकोमा गएर आसिक लिनु पर्छ भन्ने चलन थियो ।

 

दसैँको दशौँ दिन अर्थात् टिकाको दिन नयाँ लुगा लगाएर आफु भन्दा ठुलो तथा आफन्तहरूको हातबाट टिका थप्नका लागि धेरै प्रतिक्षा गर्नुपर्ने हुदा रातो टिका, जमरा लगाएर , आसिर्बाद थाप्दाको मज्जा नै बेग्लैहुन्थ्यो । तर, पहिलाको रमाइलो दसैँ अहिले त मात्र सम्झना बनेर रहेको छ ।

पहिला पैसाको धेरै महत्व हुने हुँदा कस्ले कति दियो, कति जम्मा भयो, साथीभाइमा टिका लगाएर पैसा कस्को बढी भयो र जम्मा भएको पैसाले के के किन्ने भन्ने सोच बनाउदाको मज्जा नै बेग्लै हुन्थ्यो ।

नयाँ लुगामा पिङ्ग खेलेर चंगा उडाउनुको मज्जा नै बेग्लै हुन्थ्यो । सपरिवार संगै बसेर दसैँमा मिठो मसिनो खाएर आफन्त कहाँ जाँदाको महत्व नै बेग्लै हुने गर्थ्यो ।

अहिले आएर दसैँको महिमा र महत्व घट्दै आएको छ । मानिसको दिनचर्या अस्तव्यस्त भएको छ । सबै काममा ब्यस्त । बच्चाहरु सबै आफुआफु मै तथा मोबाइल, ल्यापटप जस्ता ग्याजेटमा व्यस्त हुनथालेका छन् ।

आफन्त तथा ठुलो मानिसहरुको घर जाने समय नहुदा, चाहना समेत घट्दै गएको छ । यसैले दसैँ पनि आफ्नो सानो परिवार भित्र मात्र सिमित भएको छ ।

नयाँ लुगा तथा मिठो खानका लागि समेत दसैं कुर्नु नपर्ने कारणले पनि दसैं खल्लो भैसकेको छ ।

बढ्दो आधुनिकिकरण, अस्तव्यस्त समाज, शहरीकरण, देखावटी र भट्किलो बजार, सामाजिक प्रतिस्पर्धा र बिदेशी परम्पराको देखासिकी, आफन्त आफन्त वीचमा इर्ष्या, घमण्डको भावनाले, सानो परिवार, समयको आवश्यकता भन्दै आफ्नो धर्म, संस्कृतिका कारणले पहिलेको दसैंको महत्व र रमाइलो भन्दा अहिलेको दसैंको तुलनामा धेरै नै कम हुँदै गएको छ ।

पुरानो पुस्ता त्रमश घटदै गैरहेको छ । यता आउने नयाँ पुस्ताले आफ्नो धर्म, संस्कृति चाडपर्वमा त्यति महत्व नदिने प्रचलन बढिरहेको छ ।

एकअर्काप्रतिको मायाप्रेम र सम्मान हराउँदै गएको छ । एकअर्काप्रति इर्ष्या, घमण्ड बढ्दै गएको छ । आफ्नो परम्परा, सस्कृति रचाडबाड नै मासिने डर बढन थालेको छ । आधुनिक आविष्कारहरुले समेत बर्षौंदेखि चलिआएको चाड पर्व मोडिने खतरा बढ्दै गएको देखिन्छ । यसैले वेलैमा सचेत भएर हामी सवै नयाँपुस्ताले आफ्नो चाडपर्वको महत्वलाई जोगाउनु पर्छ ।

Loading...