fbpx

फरक स्वादमा चिकेनका विभिन्न परिकार पकाउने विधि

विराटनगर २० असोज । दशैंमा रीतीरिवाज अनुसारका खाद्यपदार्थ भोजनमा समावेश भएपनि विशेषतः मासुका परिकारलाई प्राथामिकता दिइने गरिन्छ । तर, सधै एकै प्रकारको परिकार खाँदा खाँदा वाक्क भइसकेको हुइन्छ । सधै पकाउँदै आएको खानेकुरालाई पनि अलिकति मिहिनेत र आइडिया लगाएर घरमै होटल वा रेस्टुराँमा उपलब्ध हुने जस्तै परिकार पकाउन सकिन्छ । त्यसैले यसपटकको दशैंमा कुखुराको मासुको भिन्न ‘परिकार’ पकाउने केहि विधिहरु यस्ता छन् ।

दम चिकेन

चाहिने सामग्री आवश्यकता अनुसारको चिकेन, मसिनो गरी ब्लेन्डरमा पिसिएको प्याज, लसुन र अदुवाको पेस्ट, बेसार, मसिनो गरी काटिएको हरियो खुर्सानी, जीरा, ल्वाङ, सुकमेल, तेजपत्ता, चिकेन मसला, मसिनो गरी काटिएको हाडे बदाम, मसिनो गरी काटिएको काजु, एक कतौरा दही, एउटा कागतीको रस, तार्नका लागि तेल, नून स्वादअनुसार ।

पकाउने विधि : मासुमा बेसार, लसुन र अदुवाको पेस्ट, खुर्सानी, बदाम, काजु, नुन, कागतीको रस तथा दही मिसाएर राम्ररी मेरिनेट गर्नका लागि रातभरि फ्रिजमा राख्ने । कराईमा तेल तताउने र जीरा, ल्वाङ, सुकमेल, तेजपत्ता, प्याज र अन्य मसलाहरू सुनौलो हुने गरी भुट्ने । त्यसपछि मेरिनेट गरेको कुखुरालाई त्यसमा हालेर सानो आँचमा नरम हुने गरी नापकुन्जेल सम्म पकाउने । तयार भएपछि आफुलाई मनपर्छ भने हरियो धनियाले सजाउन सक्नु हुन्छ ।

चिकन रोस्ट

चाहिने सामग्री कुखुराको मासु, एक चिया चम्चा अजिनोमोटो, आधा चिया चम्चा मरिचको धूलो, दुईवटा अण्डा, अलिकति मैदा, कर्नफ्लोर, रातो खुर्सानीको धूलो, तार्नका लागि तेल, स्वादअनुसार नून ।

पकाउने विधि : एउटा भाडामा ठुलो ठुलो पिस गरि काटिएको चिकेन, नुन, मैदा, अण्डा, कर्नफ्लोर, अजिनोमोटो तथा मरिच हालेर राम्रोसँग मोल्ने । यसरी मोलेर राखेको मासुलाई ३० मिनेटसम्म मेरिनेट हुन दिनका लागि छोडीदिने । त्यसपछि कराईमा तेल तताएर मासुलाई सुनौलो हुने गरी तार्ने । तेल सोस्नको लागि मासुलाई टिस्युमाथि हाल्ने र पाकिसके पछि यसलाई अचार तथा सससँग सर्व गर्न सकिन्छ ।

होल चिकेन

चाहिने सामग्री सफा गरिएको सिंगै कुखुरा, एउटा कागतीको रस, सुकेको खुर्सानी, हरियो खुर्सानी, पेपरकर्न, लसुन, एक ठूलो चम्चा अदुवाको धुलो, नुन र तार्नका लागि पर्याप्त तेल ।

पकाउने विधि  : कुखुराको पेटमा सानो प्वाल परेर भित्रको सबै सफा गरेर बाहिर र भित्र नुन र कागती राम्रोसँग दलेर एकछिन राख्ने । खुर्सानी, पेपरकर्न, लसुन अदुवालाई मसिनो गरी पिसेर कुखुराको भित्र र बाहिर लगाएर १० मिनेट जति छोड्नु पर्छ । त्यसपछि तातेको तेलमा सिङ्गै कुखुरालाई राम्रोसँग तार्ने र सलाद तथा अचारसँग सर्व गर्न सकिन्छ ।

चिकेन टिक्का

चाहिने सामग्री हड्डी नभएको कुखुराको मासुलाई चौकोर गरेर काट्ने, काटिएको हरियो धनियाँ, अलिकति पुदिना, लसुन अधुवाको पेस्ट, तीन ठूलो चम्चा ताजा क्रिम, अलिकति मैदा, दुई ठूलो चम्चा तेल, स्वादअनुसार नून ।

पकाउने विधि : धनियाँ, पुदिना, लसुन र अधुवाको पेस्ट बनाएर नुन मिसाउने र यो मिश्रणलाई कुखुराको मासुमा मोलेर एक घन्टा मेरिनेट गर्नका लागि छोडिदिने । क्रिम, मैदा र एक ठूलो चम्चा तेल मिसाएर मेरिनेट गरिएको मासुमा लगाउने र केहि समयको लागि छोडिदिने । त्यसपछि मासुको टुक्रालाई झीरमा उनेर अलि अलि तेल दल्दै कोइलाको रापमा सेक्ने गर्नु पर्छ । नपाकुन्जेल मासुलाई पल्टाई पल्टाई सकेपछि यसलाई तात्तातै अचार तथा सस संग सेवन गर्न सकिन्छ ।

Loading...