fbpx

नेताहरु प्रगतिशील संस्कृतिलाई रुचाउँदैनन —जेबी टुहेरे, जनगायक

आमा दिदी बहिनी हो, छोरीहरु हो छोराहरु हो, आमा तिम्रो माया कञ्चन, दुःखको बोझ बिसाउन चौतारी बनाऊँ, बसार्इं हिँड्नेको ताँतीले, कोशीको पानी सलल बिजुली बत्ती झलल, दांैतरीलाई सम्झिएर, पानी चल्दैन तर रगत चल्दछ कहिलेसम्म यस्तो ढोंगी जगत चल्दछ, बरु मेरो छाती छेड्ला बन्दुक र भालाले, विदेशमा मैले एउटी चेली भेंटे, जनता सबै देशलाई देश जनतालाई, गणतन्त्र आयो नयाँ दिन उदायो, आज नेपालमा कस्तो चलन आयो, के दिउँ दाइजो चेलीलाई र भन्देऊ साथी को हो मलाई चोर बनाउने ? आदि अनेक कालजयी चेतना र सन्देशमूलक गीत गाउने ७६ वर्षीय जनगायक जेबी टुहुरे अर्थात् ‘जुटबहादुर टुहुरे खडगी’ अझै पनि प्रगतिशील गीत गाउन सक्रिय छन् ।

वि.सं. २००१ सालमा धरानको पुरानो बजारमा जन्मिएका टुहुरेले १४ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् । त्यसपछि जनगायक टुहुरेले देशमा मात्र नभएर विदेशमा समेत जनताका गीत गाएर प्रगतिशील चेतना र सन्देश फैलाएका छन् । २०७६ साल असोज ११ गते प्रदेश १ मा एकल सांगीतिक साँझ भव्य रुपले सम्पन्न गरेका जनगायक टुहुरे आफ्नो जीवन र सांगीतिक यात्राबारे छोटकरीमा यसरी बताउँछन् :

…………………………………….

म धरानमा २००१ सालमा जन्मिएँ । पुख्र्यौली थलो धनकुटा हो । बुबा हाटबजारमा कपडा बिक्री गर्नुहुन्थ्यो । २००७ सालको क्रान्तिपछि उहाँले हामीलाई मोरङको मधुमल्ला भन्ने ठाउँमा लगेर राख्नुभयो । मैले कक्षा ३ सम्म त्यहीँ पढेँ । मेरो औपचारिक शिक्षा पनि कक्षा ३ सम्म मात्रै हो ।

मधुमल्ला असाध्यै औलो लाग्ने ठाउँ । तर त्यहाँ सांगीतिक माहौल राम्रो थियो । म सानैदेखि गाउने भएकोले राजनैतिक मान्छेहरु मलाई चेतनायुक्त सन्देशमूलक गीतहरु गाउन लगाउँथे । त्यो बेला जनतालाई सभा–समारोहमा आकर्षित गर्ने उपाय गीत–संगीत मात्रै थियो । मैले त्यो बेला राजकुमार केसीजस्ता साँस्कृतिक कर्मीहरुको संगत पाएँ । उनी असाध्यै राम्रा चेतना र सन्देशमूलक गीत लेख्थे । हामी भेला भएर गाउँथ्यौं । राजनैतिक संगतले होला मैले सुरुदेखि नै प्रगतिशील गीतहरु नै गाएँ ।

…………………………………….

मैले काठमाण्डौंमा २ पटक एकल साँझमा गाएँ । त्योबाहेक हङकङमा पनि एकल साँझमा गाएँ । त्यसरी नै दक्षिण कोरिया, सिक्किम, पाकिस्तान र श्रीलंकामा पनि सांगीतिक कार्यक्रमहरुमा गाएँ । यसैले विदेशमा पनि मेरा सहयोगीहरु धेरै छन् । २०२७ सालमा अखिलका विद्यार्थीहरुले कीर्तिपुरमा आयोजना गरेको पहिलो एकल सांगीतिक कार्यक्रममा गाएको थिएँ ।

…………………………………….

मैले आमादिदी बहिनी, खुसीको रगत, चेतनाको मुहान लगायत एक दर्जन एल्बम निकालेको छु । फुटकर त धेरै गीत गाएँ । तर संग्रहित भएका चाहिँ एक सय ५० जति छन् । अझै पनि मलार्इृ मेरो गीत गाइदिनोस्, हाम्रो कार्यक्रममा आइदिनोस् भन्दै मानिसहरु आग्रह गर्छन् । मैले सकेको सहयोग गर्ने गरेको छु ।

…………………………………….

सबै नेताहरुमा प्रगतिशील चेत छैन । यसैले उनीहरु चेतना र सन्देशमूलक गीतहरु सुन्दैनन् । प्रगतिशील संस्कृतिलाई रुचाउँदैनन् । जो नेतामा सांस्कृतिक चेत नै हँुदैन उसले देश बनाउन सक्दैन । किनभने उसले आफूलाई सांस्कृतिक रुपमा रुपान्तरण गर्नै सक्दैन । जसमा राम्रो सांस्कृतिक चिन्तन हुन्छ, उसैले मात्र देशलाई बुझ्न सक्छ । अब देश नै बुझ्न नसकेपछि विकास गर्ने कुरै आएन । त्यस्ता नेताले त मात्र आफ्नो स्वार्थ पूरा गर्ने हुन् ।

…………………………………….

चेतना र सन्देशमूलक गीत–संगीत व्यावसायिक हुनु राम्रो कुरा हो । यसो भयो भने त प्रगतिशील र राष्ट्रभावनाका गीत गाउनेहरुलाई पनि जीविकोपार्जनको आधार हुनेथियो । तर हाम्रोमा चेतनामूलक गीतहरु सुन्ने चलन नै छैन । नेताहरुले त सुन्दैनन् भने सर्वसाधारणको के कुरा गर्नु ? प्रगतिशील सांस्कृतिक क्षेत्रलाई व्यावसायिक बनाउन त सबैले गीत सुनिदिनु र एल्बमहरु किनिदिनु प¥यो नि ! तर खै त्यो संस्कृतिको विकास भएकै छैन ।

…………………………………….

म तत्कालीन एमाले पार्टीनिकट जनसांस्कृतिक मञ्चको अध्यक्ष, संविधानसभा सदस्य र अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको सभापति पनि भएँ । मैले त्यो बेला दिक्क लागेर एमाले परित्याग गरेर माओवादीमा प्रवेश गरेको थिएँ ।

मैले चेतना र सन्देशमूलक गीत गाएर केही गुमाइनँ । बरु धेरै नाम र माया कमाएँ । जनताप्रति समर्पित हुन पाएँ । समाजलाई परिवर्तनको पथमा अगाडि हिँड्न अलिकति भएपनि सहयोग गर्ने अवसर पाएँ । म नमरुञ्जेल प्रगतिशील गीत संगीतलाई माया गरिरहनेछु । म चाहन्छु म नभएपनि चेतना र सन्देशमूलक गीत–संगीत झन् झन् फैलँदै मौलाउँदै जाओस् ।

…………………………………….

प्रगतिशील गीत–संंगीतको क्षेत्रमा लाग्दा धेरै आरोह–अवरोहहरु आए । मैले विराटनगरमा मधुमल्ला नामको भात होटल र शितल लज पनि चलाएँ । जीवनमा धेरै आर्थिक अभाव झेलियो । तर मैले कहिल्यै चेतनामूलक गीत–संगीतलाई अभाव र दबाबले गर्दा त्याग गरिनँ । निरन्तर लागिरहेँ । जनताका लागि गाउँ गाउँ, कुनाकन्दरा सबै ठाउँमा पुगेर गाएँ । मेरा १ छोरा ४ छोरी छन् । छोरो पनि बुढो भइसक्यो । मत हजुरबा भैसकेको मान्छे । जहिलेसम्म सक्छु, गाइरहन्छु, जनताका लागि जनताको गीत ! मेरो बुबा २०२१ सालमा बितेपछि म टुहुरो भएँ । यसैले मैले आफ्नो नामको पछाडि टुहुरे लेख्न थालँे । पछि म जुटबहादुर टुहुरे खड्गीबाट जेबी टुहुरे भनेर चिनन थालेँ ।

 

Loading...