fbpx

इराकमा सरकार विरोध प्रदर्शन जारी, करिब एक सयको मृत्यु

इराक १९ असोज । इराकको राजधानी बग्दाद तथा अन्य प्रान्तमा फैलिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या १ सय पुगेको छ । इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै ४ हजार जना घाइते भएका छन् ।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत ९९ जनाको ज्यान गएको बताए ।
उनले आन्दोलनमा संलग्न झण्डै तीन हजार ९ सय ९१ जना घाइते भएको बताए । घाइते हुनेहरुमा धेरै जसो आन्दोलनकारी छन् । बायाटीले हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताए ।

गत मंगलबारदेखि बग्दादसहितका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।

गत शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका भएपनि आन्दोलन भने रोकिएको छैन् ।

Loading...