fbpx

यस्ता छन् प्रदेश १ सांसदका दसैंं योजना

यज्ञ अधिकारी

विराटनगर १९ असोज । हिन्दुहरुको मुख्य चाड दसैंमा सवै व्यस्त हुन्छन् । साथीभाइ र आफन्त भेटघाट गर्ने, पिङ खेल्ने, खानपान र घुमफिर गर्ने, सामाजिक कार्यक्रममा सरिक हुने अनि ठूला–बडाहरु सँग आशीर्वाद लिँदै टीका लगाउन सबैलाई भ्याइनभ्याइ हुन्छ । यो दसैंमा प्रदेश १ का सांसदहरुले पनि दसैं कसरी मनाउने भन्नेबारे आ–आफ्नै योजना बनाएका छन् । कोशी अनलाइनसँग दसैंमा उनीहरुले आफ्ना योजना यसरी बताएः–

बुद्धिकुमार राजभण्डारी –प्रमुख सचेतक (नेकपा) 

दसैं आफ्नै घर सोलुखुम्बुमा बसेर परिवारका साथ मज्जाले मनाउने हो । आमा, छोराछोरी र श्रीमतीको साथमा आफ्नै ठाउँमा यसपटको दसैं मनाउन लागेका छौं । टीकाको दिन चेलीबेटीलाई टीका लागाइदिन आमालाई प्लेनबाट काठमाण्डौ पठाइदिन्छु । त्यसका साथै जनताको बीचमा गएर शुभकामना आदान–प्रदानको कार्यक्रम त छँदैछ । यहाँ सबै जनताको माग भनेको बाटो कै लागि हो । जसरी भए पनि बाटो बन्नुपर्ने जनताको अपेक्षा रहेको छ । त्यसको लागि सक्दो प्रयास पनि गरिरहेका छौं । दसैं, तिहार, छैठ लगायतका पर्वबाट सबैलाई प्रतिफल मिलोस् भन्ने सुभकामना दिन चाहन्छु ।

तुलसीप्रसाद न्यौपाने – सांसद

दसैं शुभकामना आदान–प्रदान भेटघाट गरेर मनाउने हो । बजेट अधिवेशन भरखरै सकिएको छ । जनताको माझमा गएर त्यसको जानकारी गराउनेछु । त्यस क्रममा गत आर्थिक वर्षमा भएका विकास निर्माणको अनुगमन पनि हुनेछ । विकास निर्माणको मूल्याङकन गर्ने अवसर मिल्नेछ । दसैंको अवसरमा जनताको बीचमा पुग्दा उनीहरुका माग र गुनासाहरु पनि बझ्न पाइन्छ । त्यही अवसरमा समाधानका विषयमा पनि छलफल गर्न पाइन्छ । यसै मेसोमा जनतालाई बजेटको बारेमा जानकारी दिने अवसर मिल्नेछ । विकास निर्माणको सम्बन्धमा निर्वाचन क्षेत्रमा भेटिएका सर्वसाधारणबाट सकारात्मक ‘रेस्पोन्स’ पाएको छु । क्रमागत रुपमा जनताको अपेक्षा पूरा हुँदै गएको मैले पाएको छ ।

ज्ञानेश्वर राजवंशी–सांसद,

परेको कारणले जनताको माझमा जान केही दिन ढीला भयो । अहिले भने जनताको माझमा जाने र शुभकामना आदान–प्रदान गरेर सँधै झैं मनाउने तयारीमा रहेको छु । त्यसका साथै ठाउँ–ठाउँमा भेला कार्यक्रम पनि राखेका छांै । पार्टीको पनि कार्यक्रम रहेको छ ।

हाम्रो समुदायमा दसैंभन्दा तिहारको रौनक बढी हुने गर्छ । हामीले तिहारलाई बढी उत्साहका साथ मनाउने गरेका छौं । त्यसका अलावा सिरुवा पर्व पनि हाम्रो समुदायको मुख्य चाडको रुपमा रहेको छ । बडा दसैं नेपालीको पर्व भएकोले यस चाडलाई पनि मनाउने गरेको छु । हामीले सबै नेपाली चाडलाई आफ्नै जस्तो गरेर मनाउने गरेका छौं ।

उपेन्द्रप्रसाद घिमिरे, सांसद

दसैंको भटाभट शुभकामना लिएर र दिएर मनाउन सुरु गरिसकेका छौं । जनताले शुभकामनासँगै कानुन राम्रो बनाउन र विकास निर्माणको कामलाई अगाडि बढाउन झक्झक्याइरहेका छन् । मैले भन्नुपर्दा चलन चल्तिअनुसार मनाउने हो । खसी काट्ने । मीठो मसिनो पकाउने । परिवारसँग बसेर परम्परागतरुपमा मनाउने, रमाइलो गर्ने । त्यसरी नै दसैं मनाउने गरेको छु । यसपटकको दसैंमा मैले बढी समय जनतालाई दिने बिचार गरेको छु । दसैंको समयमा ४–५ दिनसम्म आउने साथी–भाइ इस्टमित्रलाई टीकाको दिनमा आउन भनेको छु । एक दिन आफन्त साथी–भाइलाई र बाँकी दिन जनताको माझमा गएर दसैं मनाउने योजना बनाएको छु ।

गोपालचन्द्र बुढाथोकी, सांसद

दसैं हाम्रो सांस्कृतिक चाडको रुपमा रहेको छ । यो सकारात्मक चाडको अवसरमा समाजमा सकारात्मक रुपान्तरणको लागि पहल गर्नेछांै । त्यसका साथै समाजका विभिन्न गतिविधिमा पनि सहभागी भएर दसैं लगायतका चाडको माध्यमबाट मुलुक निर्माण, अनुशासन कायम गर्न सबै जन समुदायमा आग्रह गर्दछांै । विभिन्न शुभकामना कार्यक्रमको माध्यमद्वारा जनतालाई देश विकासको कार्यक्रममा चनाखो बनाउने काम पनि गरिरहेका छौं । दसैंको अवसरमा सकारात्मक ऊर्जा प्राप्तिको लागि विभिन्न कार्यक्रमको साथ जनताको माझमा जाँदैछांै । यस्तो अवसरमा जनताको भनाइ सुन्ने र उनीहरुको भावनालाई आत्मसाथ गरेर अगाडि बढ्ने छौं । यसको साथै दसैंमा अग्रजको हातको टीका ग्रहण गर्ने र परिवारको साथमा बसेर रमाइलो गरेर मनाउने छु ।

अर्जुन राई, सांसद

दसैं चलन चल्तिअनुसार मनाउने हो । दसैं सांस्कृतिक चाड हो । परम्परागत रुपमा यसमा मीठोे मसिनो खाएर, रमाइलो गरेर मनाउने गरिन्छ । अहिले पनि जनता अभावमा रहेका छन् । परम्परागत रुपमा आएको यस चलनलाई जसरी पनि हामीले मनाउने गरेका छांै । टीका लगाउने, मीठोे मसिनो खाने, नयाँ पहिरन लगाउने, परम्परागत रुपमा चलेको चाडलाई एक दुई जनाको प्रयासले परिवर्तन नहोला । कसैले चन्दन लगाउने, कसैले टीका लगाउने, कसैले नलगाउने होला तर खानु–पिउनु परिहाल्छ त्यसमा खासै परिवर्तन हुँदैन ।

श्रीप्रसाद मैनाली, सांसद

नेपालीको विजया दशमी हर्ष खुशीको पर्व हो । अहिले देशमा शान्ति सुरक्षा कायम रहेको छ । श्रद्धापूर्वक राष्ट्रिय पर्वको रुपमा सबैले मान्दै आएका छन् । जनताले राज्यसँग शान्ति सुरक्षा कायम होस्, भ्रष्टाचार मुक्त प्रदेश बनोस् भन्ने अपेक्षा गरेका छन् । जनताले धेरै वर्षपछि चुनेको जनप्रतिनिधिबाट अनुभूति हुनेगरी काम हुने अपेक्षा गरेका छन् । यो पर्वलाई शान्तिपूर्वक तडक–भडकरहित तरिकाले मनाउनु पर्छ । मैले पनि आम–नागरिकले जसरी दसैंलाई मनाउने गरेका छन् त्यसरी नै मनाउने हो ।

काजिमान कागते, सांसद

दसैं साथीभाइसँग भेटघाट र शुभकामना आदान–प्रदान गरेर मनाउने हो । दसैं हाम्रो राष्ट्रिय चाडको रुपमा पनि स्थापित भएको छ । यस बेला जनताको अपेक्षा पनि ठूलो छ । जनताको अपेक्षाअनुसार राज्य कुद्न सकेको छैन । परिवारबाट कोही न कोही विदेश नगएको नेपालीको एउटा पनि घर छैन । विदेशमा पुगेका नेपालीले नेपालको विकासको गति देखेर छक्क पर्छन् । हाम्रो विकास कछुवाको गतिमा छ । यो दसैंको अवसरमा जनताको माझमा पुगेर के कारणले विकास हुन नसकेको हो त्यसको समीक्षा गर्ने अवसर पनि भएको छ ।

तीन तहकै सरकारको चुनाव भएको छ । ऐन कानुन यथावत छन् । पर्याप्त कानुन निर्माण नहुँदा विकास निर्माणमा पनि बाधा पुगेको छ । हामीलाई राजनैतिक परिवर्तनबाट आएको नयाँ संरचना बुझ्न एक वर्ष लाग्यो । अब विकास निर्माणको कामले तीव्रता पाउने छ ।

म बुद्ध धर्मावलम्बी हुँ । जातीय हिसाबले मेरो चाड ल्होसार हो । दसैं नेपालीले विश्व भरिनै मनाउने गर्छन् । त्यसमा म अलग रहने कुरा हुँदैन । जातीय र धार्मिक हिसाबमा कतिपयले दसैंलाई हिन्दुको पर्व भन्छन् । दसैं हाम्रो हिजोदेखिको परम्परा भएकोले यसको सम्मान गर्नुपर्छ । दसैंमा खाने पिउने बढी नै हुने गर्छ । यस बेलामा संयम हुनुपर्छ । मदिरा सेवन बढी गर्नुहँुदैन । ऋण लाग्ने गरेर पनि दसैं नमनाउनु होला । स्वस्थ्य नै बिग्रने गरेर नखान पनि मेरो सुझाव छ ।

रामबहादुर मगर, सांसद

शुभकामना आदान–प्रदान गरेर मनाउने छु । मैले दसैंलाई भेटघाट गर्ने राम्रो अवसर र पर्वको रुपमा लिएको छु । खुशीयाली आदान–प्रदान गर्ने पर्व पनि हो विजया दशमी । हामी दसैंको बेलामा आ–आफ्नो क्षेत्रमा पुग्छौं, जनताको माझमा हुन्छांै । अहिले जनताको अपेक्षा धेरै छन् । गुनासा छन् । यही मौकामा जनतालाई प्रदेश सरकारले गर्ने काम र स्थानीय सरकारले गर्ने कामको बारेमा जानकारी गराउने पनि गरिरहेको छु ।

प्रदेश सरकारले खास ठूला काम गर्छ । स्थानीय तहले साना काम गर्ने गर्छ । ठूला प्रकृतिका काम प्रदेश सरकारले गर्नेछ । दसैं सामान्य रुपमा मनाइन्छ । परिवारको साथमा बसेर चलिआएअनुसार दसैं मनाउने हो ।

विमल कार्की, सांसद

दसैंको बेलामा सामान्यतया घरमै बसिन्छ । निर्वाचन क्षेत्रको शुभकामना आदान–प्रदान कार्यक्रममा व्यस्त भइन्छ । साथी–भाइसँग भेटघाट गरिन्छ । शुभकामना आदान–प्रदान हुन्छ । यस्तै यस्तै तरिकाले मनाउने हो ।
दसैं सांस्कृतिक पर्व हो । आध्यात्मिक दृष्टिले पनि दसैंको महत्व रहेको छ । दसैं आफ्नो क्षमताअनुसार मनाउनु पर्छ । क्षमता हुनेले खर्चिलो तरिकाले मनाउँछन् । खर्च पनि मानिसले आफ्नो सन्तुष्टिको लागि गर्ने हो । आफ्नो क्षमताभन्दा बढी खर्चेर चाड मनाउनु ठीक होइन ।

तेजमान कन्दङवा, सांसद

मजाले खाएर मनाउँछौं । दसैंमा भन्नुपर्दा राजनैतिक भेटघाट कार्यक्रम हुन्छ । त्यसमा शुभकामना आदान–प्रदानको कार्यक्रम भइहाल्छ । चाडपर्वलाई भड्किलो पाराले मनाउनुहुन्न । सामाजिक रुपमा भेला हुँदा पनि सुशासन झल्कनुपर्छ । दसैंको भेटघाटको अवसरमा पनि जनताले विकास निर्माणमा असन्तुष्टि व्यक्त गर्ने क्रम भने कायमै रहेको छ । यसरी व्यक्त भएको असन्तुष्टिले समाज परिवर्तनमा सहयोग पुग्नेछ । जनताले व्यक्त गर्ने गुनासा समाज परिवर्तनका लागि मार्गदर्शन पनि बन्न सक्छ । त्यसैले जनताको तर्फबाट धेरै आलोचना आउनु जरुरी छ ।

नेपालमा थुप्रै जातजाति रहने गरेको भए पनि दसैंलाई सबैले अपनत्वको साथ मनाउँदै आएका छन् । दसैं तिहारमा भेला हुने, भेटघाट गर्ने चलन छ । यसले एक अर्कामा सदभाव कायम राख्न सहयोग पुग्नेछ । समाजलाई पनि एक बनाएर राख्न सहयोग पुग्नेछ । त्यसैले यो पर्वलाई हामीले संरक्षण गर्दै कायम राख्नुपर्छ । निश्चित जाति र धर्म विशेषको रुपमा दसैं पर्वलाई लिनुहँुदैन ।

राजन राई, सांसद

यसपटकको दसैंमा आमाको उपचारमा बिताउने भएको छु । आमा बुवा देशबाहिर हुनुहुन्थ्यो, ब्रिटिस लाहुरेको पुनर्वास अन्तरगत । आमालाई बिसन्चो भएर आउनु भएको छ । जिल्लातिर दसैं तिहारको बीचमा मात्र जाने भएको छु । त्यसै बेला विभिन्न शुभकामनाका कार्यक्रममा पनि सहभागी हुनेछु । जनतासंग पनि भेटघाट गर्नेछु ।

समग्रमा भन्नुपर्दा दसैंलाई कतिपयले नमनाउने पनि गर्छन् । तर पनि कुनै कुनै रुपमा यो पर्व हाम्रो समुदायको अभिन्न हिस्सा हो । किराँती कतिपयले दसैंमा टीका नलगाउने पनि गर्छन् । हामी लगाउँछौ । मैलेचाहिँ दसैंलाई कुनै धर्म विशेषको भन्दा पनि समग्र नेपालीको चाडको रुपमा लिएको छु । हिन्दुको मात्रै भन्दा भारतमा दशहरा मनाउने गरिन्छ । त्यहाँ दही र अक्षता लगाइँदैन ।

नेपालभन्दा बाहिर दहीमा मुछेको टीका सायदै लागाइन्छ । यसरी हेर्दा अक्षता लगाउने चलन नेपालको कुनै भागमा विकास भएको देखिन्छ । दसैं पर्व पनि नेपालकै कुनै भू–भागमा उत्पति भएको देखिन्छ । दसैं पर्व मीठोे मसिनो खाने नयाँ पहिरन लगाउने चाड हो । पहिला मीठोे मसिनो सम्पन्नले मात्र खान पाउँथे । विपन्नले यही दसैंको मौका पारेर मीठोे मसिनो खाने र नयाँ पहिरन लगाउने चलन थियो । म सबैले दसैंलाई मनाउनुपर्छ भन्ने मान्यता राख्छु ।

नारायणबहादुर मगर, सांसद

दसैं जनताको बीचमा बसेर मनाउने हो । शुभकामना आदान–प्रदान गरेर र भेटघाट गरेर मनाइन्छ । माछा–मासु, मीठोे–मसिनो खाएर दसैं मनाउने हो । यस बेलामा जनतासँग बेसर उनीहरुका गुनासा लिने अवसर पनि पाइन्छ । म दसैंको टीका पनि लगाउँदिन । दसैं धेरै तडक–भडक गरेर मनाउनुपर्छ भन्ने पक्षको मानिस म होइन । दसैंलाई सामान्य ढंगले हेर्छु । यसमा आफन्तसँग भेटघाट गर्ने हो, निकै उत्साह र उमंग तरिकाले मनाउनुपर्छ जस्तो लाग्दैन । एउटा चाडको रुपमा सामान्य तरिकाले मनाउनुपर्छ जस्तो लाग्छ ।

शिवनारायण गनगाई – सभापति, सार्वजनिक लेखा समिति

दसैं साधारण तरिकाले मनाउने हो । विभिन्न भेलामा शुभाकामना आदान–प्रदानको कार्यक्रममा सहभागी भइन्छ । साथी–भाइ आफन्तसँग भेटघाट गर्ने । यस अवसरमा पुराना साथी–भाइसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
दसैं नेपालीहरुको महान चाड हो । यसबेला आफ्ना घरपरिवारसँग बसेर मनाउनु पर्छ । पारिवारिक माहोलमा पर्वलाई खुशियालीको साथमा मनाउनु उपयुक्त हुन्छ ।
जनताको विकास निर्माणको सम्बन्धमा धेरै गुनासो रहेको छ । बाटो घाटोको समस्य ाबारेमा जनताले बढी गुनासो गर्ने गर्नुभएको छ । अहिले दसैंको समयमा जनतासँग भेट्ने, उनीहरुको गुनासो सुन्ने र त्यसको समाधानको पहल गरेर बिताउने गरिरहेको छु ।

सरिता थापा – सभापति, सामाजिक विकास समिति

यसपालीको दसैं मनाउन पाइएन । मेरो बुबा बित्नुभएको छ । त्यसैले यो दसैंमा टीका लगाउने कार्यक्रम छैन । सामान्य रुपमा परिवारका सदस्यहरु सँग भेटघाट लगायत हुन्छ । सामान्य तरिकाले मनाउने हो । परम्परादेखि जसरी चल्दै आएको छ त्यसरी नै दसैं मनाइन्छ । फूलपातीबाट त सबै आफ्नो घरतर्फ लाग्छन् । परिवारसँग भेटघाट हुन्छ । यसका अलावा सार्वजनिक रुपमा विभिन्न कार्यक्रममा सरिक भएर मनाइन्छ । आफ्नो क्षेत्रमा हुने विभिन्न शुभकामना आदान–प्रदान कार्यक्रममा गइन्छ ।

दसैंको समयमा पनि जनतामा विकास निर्माणको चासो भने रहेको छ । उहाँहरुको विकास निर्माण बढी होस् भन्ने अपेक्षा रहेको छ । हिमाली र पहाडी जिल्लामा विकास निर्माणको काम सुस्त छ । यहाँ सडक, संचार र बिजुलीको समस्या छ । त्यसको लागि पनि जनताले बढी नै जोड गरिरहनुहुन्छ । विकासको काममा तीव्र्रता दिन आग्रह गर्नुहुन्छ । अब बजेटको पनि अभाव छ । यद्यपी गाउमा खुशियाली हुन्छ । यहाँका जनताले खुशीको साथमा दसैं मनाइरहनु भएको छ ।

सर्वध्वज साँवा लिम्बू – सभापति प्रकृतिक स्रोत तथा पूर्वाधार विकास समिति

के हुनु रु सधै जस्तै हो दसैं मनाउने । इस्ट–मित्रसँग भेटघाट गरेर मनाउने हो । साथीभाइ आउँछन् । भेटघाट हुन्छ । त्यसरी नै रमाइलो गरेर मनाउने हो । परिवारसँग बसेर मनाइन्छ । परिवार र आफन्त टीका लगाउन आउँछन् । उनीहरुलाई टीका लागाइदिने हो । केही वर्ष अगाडि दसैंको विरोध गर्ने निस्केका थिए । केही समूहले विरोध गरेका थिए । मैले त छाडेको छैन । नियमित मनाउँदै आएको छु । त्यसरी केही वर्ष छाड्नेले पनि अहिले मनाउन थालेका छन् ।
मलाई दसैं भड्किलो भए जस्तो लाग्दैन । बरु तिजमा त्यस्तो हुन्छ । आफ्नो औकातअनुसार दसैं मनाउने हो । भड्किलो भएको मैले देखेको छैन ।

इन्द्रमणी पराजुली – सभापति, न्याय, प्रशासन तथा विधायन समिति

दसैंभरी विभिन्न कार्यक्रम रहेका छन् । तिनै कार्यक्रममा व्यस्त भइन्छ । हजुर आमा बित्नु भएकोले परिवारमा दसैं मनाइँदैन । परिवारका सदस्यहरु भेला भइन्छ । यस्तै तरिकाले यसपालीको दसैं बित्नेछ । नेपालीहरुले इतिहासदेखि मनाउँदै आएको चाड हो दसैं । पुरातन संस्कृतिकै रुपमा अहिले पनि हामीले निरन्तरता दिइरहेका छांै । अब हामीले यसमा केही परिवर्तन गर्नुपर्ने हुन्छ । दसैंको बेलामा हुने खानपान, खर्च लगायतमा हामीले समयअनुसार परिवर्तन गर्दै लैजानुपर्छ ।

यो दसैंमा जेष्ठ नागरिकहरु सबैभन्दा बढी उत्साहित हुनुभएको पाएको छु । उहाँहरुले चार महिनाको तलब पाउनुभएको छ । उहाँहरु दसैंको मुखमा राम्रो खर्च पाएर निक्कै उत्साहित हुनुभएको छ । वृद्धवृद्धा, अपाङ्ग लगायतले यसपटक सामाजिक सुरक्षा भत्ता पाउनुभएको छ । जनताको अपेक्षा ठूलो छ । गरिबी, अभावको अवस्था उस्तै रहेको छ । अनेकौ समस्याको बाबजुद पनि जनतामा दसैंको उत्साह छ ।

सीता थेवे, सभापति – उद्योग, वन वातावरण तथा पर्यटन समिति

भेटघाट कार्यक्रममा सहभागी भएर मनाइन्छ । जिल्लामा जाने हो । वडाहरुको कार्यक्रममा सहभागी हुन्छु । त्यहाँ शुभकामना आदान–प्रदान हुन्छ । परिवारका सदस्यसँग भेटघाट गरिन्छ । मासुभात खाइन्छ । त्यसरी नै मनाउने हो । माइतमा चेली आई भन्छन् । दाजुभाइसँग भेटघाट गरिन्छ । जनताले प्रदेशबाट के लिएर आइस् भनेर सोध्नुहुन्छ । त्यसको बारेमा जनतालाई जानकारी गराउनेछु । त्यहाँ छलफल गरिन्छ । २०७६÷७७ को बजेटको बारेमा जनतालाई जानकारी गराइन्छ । त्यहाँ समस्याका विषयमा छलफल गरिन्छ । जनताको सुझाव सुन्ने काम गरिन्छ ।

राजिव कोइराला – नेता, संसदीय दल नेपाली काँग्रेस

दसैं सामान्य तरिकाले मनाइन्छ । साथी–भाइसँग भेटघाट गरिन्छ । परम्परागत रुपमा चलिआएको चलनअनुसार परिवारका बीचमा बसेर दसैं मनाइन्छ । त्यसैगरी हामीले मित्र मिलनको कार्यक्रम पनि राखेका छौं । म २०३४ सालको एसएलसी व्याच हो । त्यस वर्षका साथी–भाइ भेटघाट गर्ने कार्यक्रम रहेको छ । दसैंको समयमा जनताहरु उत्साहित नै रहेको पाएको छु ।

प्रदेश सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको भए पनि अलिअलि विकास निर्माणको काम भइरहेका छन् ।यसबेला बढी खाने पिउने गरेका कारण अपराधका घटना बढ्ने गरेको छ । दुर्घटना पनि बढ्ने गर्छ । त्यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

जयराम यादव– नेता, संसदीय दल समाजवादी

मेरो निर्वाचन क्षेत्रमा रहेका देवी दुर्गाको मन्दिरमा पुग्छु । त्यसैगरी विभिन्न ठाउँमा आयोजना भएका देवी पूजाका स्थानमा पनि पुगेर दर्शन गर्ने कार्यक्रम रहेको छ । मेरो निर्वाचन क्षेत्रका आफन्त इस्टमित्र सबैसँग भेटघाट गर्ने शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

जनप्रतिनिधिको निजी जीवन हँुदैन । त्यसैले परिवारका सदस्यसँग बेलुकाको समयमा मात्र भेटघाट हुने गर्छ । अरुबेला त म जनताकै माझमा हुने गरेको छु । अरुले के गर्नु हुन्छ थाहा छैन मेरो भने यस्तै हुन्छ । घर परिवारमा त बिहान– साँझको पूजा कार्यक्रममा सरिक हुन्छु ।

Loading...