fbpx

स्थानीय कलेजमा विद्यार्थीको मोह

भोजपुर १८ असोज । गाउँमै उच्च तहको शिक्षा पाएपछि पछिल्लो समय गाउँकै क्याम्पसमा विद्यार्थीको संख्या बढ्दै गएको छ । घरपायकमा क्याम्पस तथा कलेज खुल्न थालेपछि महँगो खर्च गरेर शहरबजारमा बस्नुपर्ने अवस्था हटेपछि विद्यार्थी तथा अभिभावकपनि खुसी भएका छन् ।

आफ्नै गाउँठाउँको क्याम्पसमा रुचिअनुसारको विषय पढ्न पाएपछि ग्रामीण भेगका विद्यार्थीमा सहजता थपिएको हो। उच्च शिक्षाका लागि धनकुटा, खाँदबारी, धरान, इटहरी, विराटनगर, काठमाडौँ जस्ता शहरमा पढाउन खर्च धान्न नसक्ने न्यून आयस्रोतका सर्वसाधारणका लागि चुनौती हुने गरेको थियो । भोजपुरको कुलुङ बहुमुखी क्याम्पस दिङ्लाकी छात्रा रितु राईले उच्च शिक्षा लिनको लागि शहरका महँगा क्याम्पसमा जानुपर्ने बाध्यता हटेको बताइन् । उनले दाजु दिदीहरुले अन्य तिर पढ्न जानु परेपनि आफूले भने आफ्नै ठाउँको कलेजमा चाहेको विषय पढ्न पाउँदा निकै खुशी भएको बताइन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने भोजपुर बहुमुखी क्याम्पस, षडानन्द बहुमुखी क्याम्पस र कुलुङ बहुमुखी क्याम्पस गरी भोजपुरका तीन आङ्गिक क्याम्पस सञ्चालनमा छन् । घरपायकमै उच्च शिक्षा पाउँदा समय र पैसाको बचत हुने गरेको उनीहरु बताउँछन् ।
क्याम्पसमा ग्रामीण विद्यार्थीलाई बस्नका लागि व्यवस्थित छात्रावास, सहज कक्षाकोठा, सुलभ इमेल–इन्टरनेटसहितका पुस्तकालय, पाठ्यपुस्तक र छात्रवृत्तिको व्यवस्थाले झनै आकर्षित गरेको छ । दक्ष प्राध्यापकबाट सहजीकरण र अध्यापन गरिने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो ।
कुलुङ क्याम्पसमा प्राध्यापनरत अशोककुमार यादवले क्याम्पस स्थापना भएसंँगै विद्यार्थीहरुको शहरका क्याम्पसमा जाने मोह हटेको बताए । उनले विद्यार्थीले गाउँकै क्याम्पसमा राम्रो शिक्षा लिन पाएको बताए ।
पढाइसँगै सीपमूलक कार्यमा संलग्न हुने विद्यार्थी तुलनात्मक हिसाबले अब्बल रहेको उनीहरु बताउँछन् । भोजपुर क्याम्पसका प्रमुख डा. रोहितकुमार श्रेष्ठले सहज शिक्षाको लागि क्याम्पस प्रशासनले इ–लाईवेरी, छात्रावास र दक्ष प्रध्यापकहरुको व्यवस्था गरेपछि शिक्षाको गुणस्तरमा सुधार आएको बताए । यही कारण विद्यार्थीको मोह पनि स्थानीय क्याम्पसमा बढेको उनको भनाई छ ।

Loading...