fbpx

दशैंलाई दश हजार जोड्न नै मुस्किल

शशाङ्क पौडेल
विराटनगर १६ असोज । मोरङको कटहरी गाउँपालिकाका १ महेशपुरका दिपेन राजवंशी विगत ५ वर्षदेखि विराटनगरमा ठेला चलाउँदै आएका छन् । हरेक वर्ष दशैं लागेपछि उनको मन भारी हुन थाल्छ । ठेला चलाएर कमाई भने जस्तो नहुने र दशैंमा खर्च ठुलै हुने भएपछि उनलाई चाड मनाउनकै लागि पनि ऋण खोज्नु पर्ने बाध्यता हुन्छ ।

राजवंशी समुदायमा दशैंको नवमी हाँस, कुखुरा र परेवाको बली दिने प्रचलन छ । यस्तै दशमीको दिन नयाँ लुगा लगाउने, टिका लगाउने र मेला घुम्न जाने उनको योजना छ । दिपेनले भने ‘आज त एक रुपैयाँ पनि कमाई नै भएन् । कमाई त यस्तै हो कर्जामर्जा गरेर भएपनि दशैं त मनाउँनै पर्याे नी’ कुनै कुनै दिन १५ सय रुपैयाँसम्म कमाई भएपनि धेरैजसो ५ सय रुपैयाँ भन्दा तल नै कमाई हुन्छ ।

दिपेनको परिवारमा ५ जना छन् । ऋण काढेर छोराछोरी र परिवारलाई नयाँ लुगा किनेपनि अझै खर्च हुने दिन नवमी र दशमी रहेको उनले बताए । कम कम खर्च गरेपनि दश हजार रुपैयाँले नपुग्ने उनले बताए । बजारमा चाड लागेपछि हरेक वस्तुको भाउ छोइनसक्नु हुने भन्दै उनले भने ‘मिठो खाने नयाँ लाउने चाड त हो तर के गर्नु दुई किसिमको तरकारी किन्न पनि सोच्नु पर्ने अबस्था छ । ’ ऋण नै लागेपछि एक वर्षमा आउने दशैं भने मन खोलेरै मनाउन पर्ने उनले बताए ।

यस्तै १० वर्षदेखि ठेला चलाउदै आएका शिसवनी ३ भाथिगछका कमल राजवंशीको पिडा पनि उस्तै छ । ‘सालमा एक चोटी आउने चाडपर्व त मनाउनै पर्याे नी’ भन्दै उनले भने ‘ऋण नै गरेर भएपनि छोराछोरीलाई कपडा किन्दिए, एक जनाले कमाएर ६ जनालाई पाल्नु पर्ने छ । ’ आजकाल त सिटी सफारीले गर्दा काम पनि खोसिएको दुखेसो राख्दै उनले भने ‘कमाई अब ठेला नै छोड्नु पर्ने बेला भएको छ । चाडले छोपीहाल्यो १० हजार जति नै ऋण लगाउने भो । ’

यस्तै दशैँ यस्तै मुस्किलले मात्रै कट्ने गरेको विराटनगर २ मा बसोबास गर्दै आएका ६५ वर्षीय दानबहादुर भण्डारीको । भण्डारी सिटी सफारी चलाएर गुजारा गर्दै आएका छन् । उनले भाडा लिएर सिटी चलाइरहेका उनलाई पनि दशैँलाई खर्च जोहो गर्न ऋण नै लिनु पर्ने बाध्यता छ । सिटीको कमाई दैनिक घरखर्च मै ठिक्क हुने भन्दै उनले भने ‘अहिले त ऋण लिएर टारे । अब विस्तारै कमाएर तिर्ने हो । ’

Loading...