fbpx

युरिक एसिड तथा बाथका बिरामीले दशैंमा यी कुरामा ध्यान दिनुहोस्

विराटनगर १९ असोज । चाडपर्व नजिकिदै गर्दा खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ । चाडपर्वमा रमाइलो गर्ने क्रमसंगै खानपानमा ध्यान दिन नसके शरीरमा विभिन्न रोग निम्तिन सक्छ । अझ रोग लागेको मानिसहरूले खानेकुरामा लापरवाही गरेमा रोग बल्झिने समस्या बढेर जान्छ । त्यस्तै बाथ तथा युरिक एसिडका बिरामीले चाडपर्वमा आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा फाइदा हुन्छ । सुरुमा त बाथ रोग र युरिक एसिड भनेको बेग्ला बेग्लै हो भनेर बुझ्नु पर्ने हुन्छ ।

राति सुतेको मान्छे बिहान उठ्दा हातका औंला, खुट्टाको औंलाको जोर्नी सुन्निने तथा दुखाईको महसुस हुन्छ भने युरिक एसिड भएको हुनसक्छ किनभने यो रोगले शरीरको सानो सानो हाडजोर्नीहरुमा असर पुर्याउने गर्छ । वीर अस्पतालका बरिष्ठ चिकित्सक डा. भुपेन्द्र बस्नेतका अनुसार युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ ।

तेलमा तारेको, धेरै मसला भएको खानेकुराहरु, चुरोट, खैनी, रक्सि, बियरजस्ता पदार्थको सेवन, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट ड्रिँक, तरकारीमा सिमी, तोरीको साग, पालुंगोको साग, र जंकफुडमा आइसक्रिम, पाउरोटी, केक आदिको सेवन कम गर्नु पर्छ । यदी युरिक एसिडको समस्या भएका व्यक्तिले यस्ता खाना बढी मात्रामा खाएमा हड्डी खिइने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् सम्म पनि हुन सक्छ ।

बाथरोग (आरथ्राइटिस) भन्नाले शरीरका जोर्नी र हाड, मांसपेशी र यिनीहरूलाई एक आपसमा जोडेर सम्बन्ध स्थापित गर्ने नशाहरू सम्बन्धित अन्य अंग दुख्ने, सुन्निने र जोर्नी कडा भई राम्ररी काम गर्न नसक्ने अवस्था बुझिन्छ ।
वरिष्ठ बाथरोग विशेषज्ञ डा. अरूण गुप्ताका अनुसार युरिक एसिड बढेर नै बाथरोग लाग्ने सम्भावना अत्याधिक हुने भएकाले यो रोग लागेकाले युरिक एसिड भएकाको जस्तै खानपिनमा विशेष ध्यान दिन आवश्यक हुन्छ । साथै वाथ रोग भएकालहरुले दसैंको समयमा खसी, राँगो आदिको रातो मासु, रक्सी, शाकाहारी भए पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ ।

खाने परेमा पनि निकै थोरै खाने र नियमित रुपले बिहान शारीरिक ब्यायाम गरेर मानसिक तनाव कम गर्नु पर्ने जरुरी हुन्छ । बाथ खानाको कारणले गर्दा हुने रोग भएकाले बढी चिल्लो, प्रोटिनयुक्त खाना, मदिरा र धुम्रपान गर्नु हुदैन । युरिक एसिड तथा बाथ रोग भएको समयमा मृगौलाको राम्रो संग संचालन नहुने हुँदा दैनिक कम्तिमा पनि १० गिलास पानी पिउनु आवश्यक हुन्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदि तथा क्याल्सियमयुक्त खानाको सेवनमा जोड दिनुपर्छ । अन्डा एउटा प्रोटिनयुक्त खानेकुरा भए पनि यस्तो समस्या भए पनि दिनमा एउटाको दरले खान हुन्छ ।

Loading...