fbpx

जन्म देखिको ३ वर्ष सम्मका बच्चालाई के खुवाउने ?

विराटनगर १९ असोज । गर्भावस्थामा आमाले खाएको खानाबाट नै शिशुले पोषण प्राप्त गरिरहेको हुन्छ । तर, जन्मिएपछि शिशुको खानपानमा परिवारले निकै सतर्कता अपनाउनु पर्ने हुन्छ । खानपानमा गरिएको सानो लापरवाहीले समेत बच्चाको स्वास्थ्यमा हानी पुग्न सक्छ । जन्मेदेखि ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले नै बच्चाको पूरा जीवन र बानीमा सिधा असर पर्न सक्छ ।

जन्मेको पहिलो ६ महिनासम्म शिशुलाई स्तनपान अर्थात् आमाको दूध मात्र खुवाउनु पर्छ । दुध बाहेक शिशुलाई अन्य केहि कुराको सेवन गराउनु हुदैन । शिशु ६ महिना भएपछि उमालेर सेलाएको पानी चम्चाले दिन सकिन्छ, र केही समयपछि सानो ग्लासमा राखेर पानी र दुध दिन सकिन्छ । बच्चालाई कुनै पनि उमेरमा बोतलबाट दूध या पानी दिने गर्नु हुदैन ।

बोतलमा भएको विभिन्न रसायनका कारण बच्चालाई हानी पुग्ने हुदा बोतलको प्रयोग गर्नु हुदैन । शिशु ६ महिनापछि बिस्तारै दुधका साथै फलफुलको रस र सामान्य चिजहरूलाई आहारमा सामेल गर्न सकिन्छ । सामान्य आहारमा घरमै तयार पारिएको दाल, जाउलो, अलिअलि गरेर दिन पनि सकिन्छ । छैटौं महिनामा केरालाई दूधमा मिसाएर दिन सकिन्छ ।

त्यसपछि बिस्तारै स्याउ, मेवा, आँपजस्ता फलफूल सानो सानो टुक्रामा काटेर वा जुस बनाएर बच्चाको आहारमा सामेल गर्नु पर्छ । सातौं महिनामा राम्ररी पकाइएको तरकारीलाई मसिनो बनाएर वा चिल्लो पिरो नभएको तरकारीको झोल खुवाउन सकिन्छ । बच्चाले जहिलेसम्म आमाको दूध खान्छ, त्यतिबेलासम्म निरन्तर खुवाई रहनुपर्छ ।

नौ महिनाका बच्चालाई गाई या भैंसीको दूध गिलासमा खानका लागि दिन सकिन्छ । बच्चा एक वर्षको पुगेपछि स्वास्थ्य छ भने सन्तुलित र पूर्ण आहार थोरै थोरै गर्दै दिन सकिन्छ । बच्चालाई सानै उमेरदेखि जंकफुड खुवाउने गर्नु हुदैन । सानै उमेरमा जंकफुड खुवाएपछि, त्यसको बानी बस्न सक्ने हुदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।

Loading...