fbpx

उत्तर कोरिया र अमेरिकाबीचको वार्ता स्टकहोममा

स्टकहोम १८ असोज । उत्तर कोरिया र अमेरिकी अधिकारीहरु उत्तर कोरियाली आणविक कार्यक्रमका विषयमा वार्ता गर्न शनिबार स्वीडेनको स्टकहोम पुगेका छन् । पछिल्लो समय उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको बेला दुबै देशका वरिष्ट अधिकारीहरु वार्ताका लागि भेला भएका हुन् ।

उत्तर कोरियाका किम म्योङ गिल र उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिफेन बाइगनले वार्ता टोलीको नेतृत्व गर्दै स्वीडेन गएका हुन् । स्वीडेनकी विदेश मन्त्री आन लिन्डले अमेरिकी र उत्तर कोरियाली अधिकारीहरुले स्वीडेनलाई वार्तास्थल छनौट गरेकामा खुसी व्यक्त गरिन् । आणविक निःशस्त्रीकरण र शान्तिपूर्ण समाधानका लागि संवाद नै एकमात्र उपयुक्त विधि रहेकामा उनको भनाई छ ।

उत्तर कोरियाली आणविक निःशस्त्रीकरणका विषयमा यस्तै किसिमका सन् २०१८ र गत जनवरीमा पनि स्वीडेनमा वार्ता भएको थियो । उत्तर कोरियाले वार्ताका लागि दबाब सिर्जना गर्न क्षेप्यास्त्र परीक्षण र नयाँ हातहतियारको प्रदर्शनीलाई निरन्तरता दिइरहेको छ । विज्ञहरुले उत्तर कोरियाली यस रणनीतिले केही फाइदा पुगेको बताएका छन् ।

उत्तर कोरियाले गत बुधबार पनि निकै ठूलो रकेट परीक्षण गरेको थियो । स्वीडेन प्रस्थान गर्नुअघि बेइजिङमा कुरा गर्दै उत्तर कोरियाली वार्ता टोलीका नेता किम म्योङ गिलले वार्ताप्रति निकै आशावादी रहेको बताए ।
संयुक्तराज्य अमेरिकाले पनि वार्ता पुनः शुरु हुने आशा व्यक्त गरेको थियो । तर भियतनामको हनोईमा सम्पन्न दोस्रो उच्चस्तरीय वार्ता भंग भएपछि दुबै देशबीच औपचारिक वार्ताहरु भएको थिएन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाले गरिरहेका सानातिना हतियार परीक्षणबाट अमेरिकालाई खासै प्रभाव नपर्ने बताउँदै वार्ताका लागि तयारी भइरहेको बताउँदै आएका थिए ।

Loading...