fbpx

इराकमा सरकार विरोध प्रदर्शनका क्रममा ९३ जनाको मृत्यु, ४ हजार घाइते

बग्दाद १८ असोज । इराकको राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा ९३ जनाको मृत्यु भएको छ । इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै चार हजार व्यक्ति घाइते भएका छन् ।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत ९३ जनाको मृत्यु भएको बताए । आन्दोलनमा संलग्न झण्डै तीन हजार ९ सय ७८ जना घाइते भएको उनको भनाई छ । घाइतेमध्ये अधिकांश आन्दोलनकारी हुन् । बायाटीका अनुसार हिंसात्मक झडप रोकिने स्थिति भने अझै देखिएको छैन् ।

गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट जनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका छन् ।

Loading...