fbpx

देशमा छैन काम

केशव दुवाडी

ओभानै छन् नयन किन हो आँसु नै रित्तियो कि
दुख्नै छाड्यो मुटु पनि अहो ! साँच्चिनै लाटियोकि ।

चिन्ता लाग्यो छटपट भयो पेटमा छैन माम
बाँच्नै गाह्रो अब हुन गयो देशमा छैन काम ।।

बारी बेची सहर झरियो उच्च शिक्षा भनेर
टुप्पी कस्दै खरर पढियो दाम पैसा गनेर ।

राम्रो डिग्री छनि तर कतै पाइने हैन ठाम
बाँच्नै गाह्रो अब हुन गयो देशमा छैन काम ।।

धन्दा गर्ने पनि त कसरी ? छैन केही लगानी
छाती पिट्दै धरधर रुँदै बोकियो राहदानी ।

शिक्षा दिक्षा सब फजुलभो छाडियो देश गाम
बाँच्नै गाह्रो अब हुनगयो देशमा छैन काम ।।

भ्रष्टाचारी कपुत जनले राष्ट्र पारे खरानी
रक्सी पारे सुलभ यिनले गाउँमा छैन पानी ।

नेता चम्चा धनिक जनकै मात्रभो ताम झाम
बाँच्नै गाह्रो अब हुनगयो देशमा छैन काम ।।

धादिङ

 

Loading...