fbpx

पत्रपत्रिकामा प्रदेश : मेयर पराजुलीको नियमअनुसारको भत्ता रकम सामाजिक काममा !

विराटनगर, १८ असोज । प्रदेश नम्बर १ का केही पत्रपत्रिकाले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नियमअनुसारको भत्ता रकम सामाजिक काममा खर्चिएको समाचार प्रकाशन भएको छ । विराटनगरबाट प्रकाशित सृष्टि दैनिकले प्रमुख पराजुलीले मेयरका रूपमा नियमानुसार प्राप्त हुने रकम भ्रमण भत्तालगायतका भत्ता बुझेर सामाजिक कार्यमा खर्चिएको समाचारलाई स्थान दिएको छ ।

मेयर पराजुलीले आफूलाई प्राप्त हुने भत्ता पनि सामाजिक कार्यमा खर्चिएपनि महानगरपालिकाका केही कर्मचारीले यसलाई विवादमा ल्याएको जनाइएको छ । पछिल्लो समय मेयरले अष्ट्रेलिया, अमेरिका, मलेसिया, चीन भ्रमणमा जाँदा झण्डै एक लाख ६० हजार रूपैयाँ बुझेपनि सो रकम लक्ष्मीनारायण मन्दिर, विपन्न बालबालिकाको शिक्षा र विभिन्न सामाजिक संघ–संस्थालाई दिएका छन् ।

तर, महनगरकै कर्मचारीले यो विषयलाई विवादमा ल्याएपछि मेयरले आफूले अनियमितता गरेको भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । यस्तै मेयरले आफूले पाउने दसैं खर्च पनि सामाजिक र धार्मिक काममा लगाउने बताएका छन् ।

यस्तै प्रदेश एकका प्रायः पत्रपत्रिकाले कोशीमा हाम फालेर कर्मचारीले आत्महत्या गरेको विषयलाई समाचार बनाएका छन् । प्रदेश १ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कार्यरत ४० वर्षीय राजेशकुमार साहले सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या गरेका छन् । बुधबार साँझ सुनसरी इनरुवा स्थायी घर भएका साहले एक सुसाइड नोट लेखेर आत्महत्याको कारण आफ्ना दुई साथीलाई दिँदै आत्महत्या गरेका हुन् ।

नापी सर्भेयर पदमा कार्यरत शाहले इनरुवामा साझेदारीमा प्लाइउड फ्याक्ट्री चलाइरहेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार सुसाइड नोटमा नजिकका साथीका कारण आत्महत्या गरेको उल्लेख भएको बताए ।

Loading...