fbpx

गायक सिताराम पोखरेलको एल्बम ‘अल्कोहोलिक लभ’ दलित बस्तीमा बिमोचन

विराटनगर, १७ असोज । दलित बस्तीका बालबालिकाहरूसँग आफ्नो जन्मदिन मनाउँदै आधुनिक गायक सिताराम पोखरेलले आफ्नो सातौँ गीति एल्बम बिमोचन गरेका छन् । शुक्रबार विराटनगर महानगरपलिका–१६ दरैयास्थित ऋषिदेव बस्तीका बालबालिकाहरूसँग केक काटेर आफ्नो जन्मदिन मनाउँदै उनले सातौँ गीति एल्बम ‘अल्कोहोलिक लभ’ बिमोचन गरेका हुन् ।

दरैयाबस्तीको ऋषिदेव वस्तीमा रहेको बालकेन्द्र भवनमा ७५वर्षीय बलदेव ऋषिदेवलाई प्रमुख अतिथि बनाएर छोटो कार्यक्रम आयोजना गरी गायक पोखरेलले त्यही ‘वर्थडे केक’ काटेर जन्मदिन मनाएका थिए । उनले सबै बालबालिकाहरूलाई केक, चकलेट दिँदै कापीकलम पनि बाँडे र अन्त्यमा गीति एल्बम ‘अल्कोलिक लभ’ बिमोचन गरे । आफ्नो जन्मदिनको अवसरमा जन्म दिन मनाउन दलित बस्तीमा पुगेका गायक सितारामले बालकेन्द्रमा बिजुली बत्तिका लागि वायरिङ गरिदिने घोषणा पनि गरे ।

गरिब बस्तीमा आएर जन्मदिन मनाएको र बालकेन्द्रलाई सहयोग गरेको भन्दै विराटनगर महानगरका १६ नम्बर वडा अध्यक्ष मनोज सुब्बा, गायक रामानन्द मण्डल, हाँस्यकलाकार पारस थापा र बालकेन्द्रका स्वयंसेवक राजु क्षेत्रीलगायतले धन्यवाद दिए । बिमोचित एल्बम ‘अल्कोहोलिक लभ’ मा दुई वटा छायाङ्कनसहित छ वटा गीत छन् ।

पन्ध्र वर्षदेखि गरिबहरूसँगै जन्मदिन

गायक सितारामले कलाकारहरूले पनि वर्षमा एक दिन सकेको समाजसेवा गर्नुपर्छ भन्ने उद्देश्य लिएर १५ वर्षदेखि निरन्तर गरिब र असाहयहरूमाझ जन्मदिन मनाउदै आवश्यक गरेको बताए । उनले सबै कलाकारहरूले वर्षमा एक दिन समाजसेवामा योगदान दिन सके समाजको शैक्षिक स्तरबृद्धि गर्न गरिबी निवारण गर्न थोरै भएपनि सहयोग पुग्छ भने ।

नेपाल–भारत सीमा क्षेत्रमा रहेको उक्त्त ऋषिदेव बस्तीमा ४० घरपरिवार भूमीहिन बसोवास गर्छन् । उनीहरू सबै जनमजदूरी गरेर जीविका चलाउँछन् । यो बस्तीमा कक्षा ४ भन्दा धेरै पढने कोही बालबालिकाहरू छैनन् । यसैले यहाँ लायन्स क्लबले निर्माण गरिदिएको बालकेन्द्रमा स्थानीय अपांङगता भएका व्यक्ति राजु क्षेत्रीले निःशुल्क पढाउँदै आएका छन् ।

Loading...