fbpx

दसैंमा साटेको नयाँ नोटलाई कसरी जोगाउने ?

विराटनगर, १७ असोज । बडा दसैंको टीकाको दिन नजिकिँदै आएको छ । दसैंको दसौँ दिन अर्थात् टीकाको दिन घरपरिवारका ठूलाबडा तथा आफन्तसँग टीका जमराका साथै दक्षिणा आदान–प्रदान गरी आशिर्वाद दिने गरिन्छ । नेपाली संस्कृतीको रूपमा टीका लगाएपछि दक्षिणा आदान–प्रदानका क्रममा नयाँ नोटको प्रयोग गरिन्छ ।

note

एक पटक प्रयोग गरिएको नयाँ नोटमा टीका लागेपछि त्यो रंगिने तथा पैसा बोक्दासमेत कुच्याएर गोजीमा हाल्ने हुदाँ अर्को पटक प्रयोग गरिँदैन र पुरानो मानिन्छ । नयाँ नोट छाप्नका लागि खर्च धेरै लाग्ने हुँदा दसैंमा नयाँ नोटको प्रयोग गर्दा त्यसमा केही सावधानी अपनाउन सकेमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनबाट जोगाउन सकिन्छ ।

यसपाली साटेको नोटलाई हिफाजतसंग प्रयोग गरेमा अर्को वर्षलाई समेत पुर्याउन सकिने हुँदा नयाँ नोटलाई राम्रोसँग प्रयोग गर्नका लागि नेपाल राष्ट्र बैंकले आम सर्वसाधारणमा अनुरोध गरेको छ । राष्ट्र बैंकले नयाँ नोट छाप्नका लागि ठूलो मात्रामा पैसा पर्ने भएकाले नोटको जतन गरी देशको सम्पत्ति जोगाउनका लागि नयाँ अथवा पुरानो दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म नयाँभन्दा पनि पुरानो नोटको प्रयोग गर्ने बानी बसाउन आग्रह गरेका छन् ।

नोटको जतन गर्नका लागि अनिवार्य रुपमा खाम तथा ब्यागको प्रयोग गर्ने बानी बसाल्नु पर्छ । पूजा गर्दा, टीका लगाएपछि वा कुनै काम गर्दा फोहोर भएका हातहरूले सकेसम्म नोट छुने गर्नु हुँदैन । नोटमा जथाभावी कोर्ने, स्टिच गर्ने तथा च्यात्ने काम गर्नु हुँदैन । नोटलाई धेरै समयसम्म पोको पारेर राख्दा नोट सड्ने हुँदा यसलाई माटो, धमिरा, आगो र पानीबाट जोगाउनु पर्छ । नोटलाई मठमन्दिर वा पूजापाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रंग, अविर, पानी, दूध, रगत पर्नु हुँदैन बरु, पैसालाई दान पेटिकामा हाल्ने बानी बसाल्नु पर्छ ।

देशको सभ्य नागरिक भएको नाताले नोटको हिफाजत गर्नुपर्छ भन्ने कुरा आफूले पनि सोच्ने गरौं र अरुलाई पनि नयाँ नोटलाई राम्ररी प्रयोग गर्नु पर्छ भनेर सिकाउने गरौँ । नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागेर कारोबारका क्रममा शंकास्पद तथा च्यातिएका नोटहरू भेटिएमा नजिकैको राष्ट्र बैंकको कार्यालय वा अन्य बैंकमा बुझाउनु पर्छ ।

Loading...