fbpx

‘सेल्फी किङ’को माग बढ्यो, छायांकनबाटै विदेशी राइट्स बिक्री

विराटनगर, १७ असोज । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को अहिले धमाधम छायांकन भइरहेको छ । छायांकन भइरहेको उक्त फिल्मको विदेशी राइट्स निकै महँगो मूल्यमा बिक्री भएको छ । फिल्म ‘प्रसाद’ निर्माण गरेको टिमको चलचित्र भएकाले पनि फिल्मको विदेशमा उच्च माग रहेको देखिन्छ ।

फिल्मलाई अष्ट्रेलियामा ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेन्टले २५ लाखमा प्रदर्शन अधिकार खरिद गरेको छ । फिल्मलाई अष्ट्रेलियामा मात्र नभएर युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हङकङ, मलेसियालगायतका देशबाट पनि फिल्मको प्रदर्शन राइट्स खरिदको प्रस्ताव आएको फिल्मका निर्माता सुवास थापाले बताएका छन् । फिल्मको प्रदर्शन राइट्स खरिदको प्रस्ताव राख्नेमध्ये अधिकांश देशमा ‘प्रसाद’ का वितरकहरू नै ‘सेल्फी किङ’ खरिद गर्नका लागि इच्छुक देखिएका छन् ।

विपिन कै मुख्य भूमिका रहेको फिल्म ‘प्रसाद’ ले नेपालसँगै विदेशमा पनि राम्रो कमाइ गरेको थियो । केही दिनमै अन्य देशका वितरकसँग ‘सेल्फी किङ’ को प्रदर्शनको लागि सम्झौता हुने निर्माता थापाले बताए । ‘सेल्फी किङ’ को नामले परिचित एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यो फिल्मले वाचन गर्ने भएको छ । हाँस्य कलाकारको भूमिका निर्वाह गर्ने मुख्य अभिनेता विपिन कार्कीको वरिपरि फिल्मको कथा घुम्ने बताइएको छ ।

फिल्ममा अभिनेत्री केकी अधिकारीको अतिथि कलाकारको रूपमा प्रस्तुत हुने र उनले फिल्ममा समावेश गरिने आइटम नृत्य गर्ने भएकी छन् । विशाल सापकोटाको निर्देशनमा तयार हुने फिल्ममा विपिनका साथ लक्ष्मी बर्देवा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सवीन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरूको पनि अभिनय रहने छ । फिल्मको कथा निर्देशक सापकोटा आफैँले लेखेका हुन् । प्रवल कोइराला र राजेश विशुरलले संयुक्त रूपमा निर्माण गरेको फिल्मलाई सुशन प्रजापतिले छायांकन गर्ने भएका छन् ।

जीवन थापाको सम्पादनमा तयार हुने फिल्ममा सुवास भुषालको संगीत, गीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहनुका साथै निर्मल लामाको कोरियोग्राफी रहने भएको छ । फिल्मलाई यस वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने निर्माण टिम जुटेको छ ।

Loading...