fbpx

दसैं कसरी मनाउँदैछन् प्रदेश १ का भिआइपीहरू ?

विराटनगर, १७ असोज । हिन्दू धर्मालम्बीहरूको पर्व दसैंको चहलपहल सुरु भएको छ । बजारमा किनमेल गर्नेदेखि घर बाहिर रहेकाहरूलाई घर पुग्ने चटारो छ । महान् पर्व दसैमा सबैजना आफन्तसँगको भेटघाटसँगै अग्रजबाट आर्शिवाद ग्रहण गर्नेदेखि खानपान, घुमघाम र अध्ययनमा केन्द्रित हुन्छन् । नयाँ लुगा, नयाँ परिकार, पीङको चचहुईदेखि विभिन्न कार्यक्रम र हर्षबढाईले गाउँ समाजमा दसैंले उत्साह थपिदिन्छ ।

दसैंको रमझम सुरु भइसकेको छ । कोशी अनलाइनले प्रदेश १ का प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख र उपसभामुख र मन्त्रीहरूले दसैं कसरी मनाउछन् भनेर सोधखोज गरेको छ ।

टीका थाप्न ससुराली जान्छु : गोबिन्द तुम्बाहाङ, प्रदेश प्रमुख

दसैंका लागि धेरै कार्यक्रमहरू छैन । टीकाको दिन घरमा परिवारलाई टीका लगाइदिएर धनकुटा ससुरालीमा टीका थाप्न जाने योजना छ । पहिले अध्यापन पेशामा रहँदा पनि दसैं सामान्य नै थियो । अहिले पनि सामान्य हुन्छ ।

दसैंमा मीठो मसिनो खानपान, आफन्त भेटघाटमा बित्छ । एकादशी र द्वादशीमा माछा मासु खाने गरेको छैन । आमाको तिथी परेका कारण दुई दिन माछा मासु खान्न ।

घर जाने योजना छ : शेरधन राई, मुख्यमन्त्री

दसैं सामान्य रूपमा नै बित्ने गरेको छ । पहिलेजस्तो विशेष छैन । सार्बजनिक पद धारण गरेपछि धेरै समय परिवारसँग बसेर मनाउन पाएको छैन । भोजपुर घरमा बुबा–आमा हुनुहुन्छ ।

दशैंमा घर जाने योजना छ । तर वर्षाका कारण सडक बिग्रिएका छन् । मौसम सफा भए घर पुग्छु होला । पानी परिरहे विराटनगरमा नै दसैं हुनसक्छ । दसैंमा हामी मान्यजनबाट टीका लगाउँछौं । हाम्रो परम्परा सेता टीका लगाउनेछ ।

आफन्त भेटघाट, शुभकामना आदान–प्रदान कार्यमा नै मेरो दसैं बित्ने गरेको छ ।

भेटघाट र शुभकामनामा बित्छ : प्रदीपकुमार भण्डारी, सभामुख, एक नम्बर प्रदेशसभा

दसैं सामान्य रूपमा आफन्त भेटघाट र पारिवारिक रमाइलोमा नै बित्ने गर्छ । दसैं तिहार छठ जस्ता चाडपर्वले सांस्कृतिक एकता, सदभाव, भातृत्व मेलमिलाप गर्दै समाजलाई एकसुत्रमा बाँध्ने काम गर्छ ।

दसैंमा आयोजना हुने सांस्कृतिक कार्यमा पनि सहभागी हुनुपर्छ । दसैं मनाउँदा तडकभडक हुँदैन । प्रगतिशील रूपमा मनाउँछौं ।

बुबाको निधनपछि टीका लगाएको छैन : इन्द्र आङ्गबो, आर्थिक मामिला तथा योजनामन्त्री

दसैं धेरै नेपालीहरू ठूलो चाड हो । तर, हामी जनजाती पृष्टभूमिबाट आएका कारण ठूलो उत्सवको रूपमा रहन्न । सामाजिक हिसाबले आफन्त भेटघाट, खानपान हुन्छ

tgjh

। ठूलो तडक भडक कहिलै भएन । गाउँ घरमा रहँदा भेटघाट, खानपान र रमाइलोमा दसैं बित्ने गर्दथ्यो । पहिले टीका पनि लगाउँथे । तर, बुबाको निधन भएपछि ७–८ वर्ष भयो टीका लगाएको छैन । तर, कसैले लाइदिन्छौँ भन्दा टीका लगाउँछु । टिका थाप्न भनेर कतै हिँडेको छैन ।

यसपाली दशैंमा घर पुग्दिन । विराटनगरमा नै हुन्छु । यो दशैं पनि पहिलेजस्तै सामान्य हुन्छ । साथीभाई आफन्त भेटघाट गर्ने कार्यक्रम छ । पहिलेजस्तो किनमेलका लागि दशैं नै पर्खनुपर्छ भन्ने छैन । अरुबेला नै किनमेल हुन्छ ।

दसैंका लागि चारदिन छुट्टी, पूर्णिमासम्म कार्यक्रम : हिक्मत कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री

नेपाली सांस्कृतिसँग जोडिएका सबै चाडपर्वलाई धुमधासँग मनाउनुपर्छ भन्ने मान्यता राख्छु । नेपालीको सांस्कृतिक पहिचान निकै बृहत छ । मुलक सानो भएपनि जातिभाषिक र सांस्कृतिक विविधता छ । दसैं सबैभन्दा ठूलो चाड पनि हो । यो दसैंमा केही दिन विराटनगर, केही दिन झापा घरमा बस्ने कार्यक्रम बनाएको छु ।

झापामा आमा र आफन्तहरू हुनुहुन्छ । आफन्त भेटघाट र परिवारसँग रमाइलो गर्ने योजना छ । मन्त्री भएपछि सामाजिक कार्यक्रममा पनि सहभागी हुनुपर्याे । अष्टमीदेखि एकादशीसम्म घरमा बस्छु । नवमीमा प्रधानमन्त्री दमक आउँदै हुनुहुन्छ । उहाँलाई बिदाई गरेपछि आफन्तलाई समय दिन्छु । टीकाको दिनदेखि टीका लगाउने र भेटघाट सुरु हुन्छ । यो दसैंमा टीका लगाउन बाहिर जाने कार्यक्रम छैन ।

दसैंमा खुसी साट्ने नयाँ जोसका साथ काममा फर्कने योजनामा छु । लिङ्गे पीङ खेल्ने योजना बनाएको छु । दशैंमा गाउँघरमा छुट्टै रौनक हुन्छ । बाहिरबाट आएका साथीभाईहरूसँग भेटघाट पनि हुन्छ । तर, खानपान र मनोरञ्जन अलि कम हुन्छ । हिजो राजनीतिक कार्यक्रम हुँदा हुने खानपान र खेलकुद हुँदैन ।

हाम्रो गौरदह बजारमा दशैंको पूर्णिमाको दिनमा सन्थाल समुदायले झाँकी प्रदर्शन गर्ने पुरानो परम्परा छ । यो पटक झाँकी प्रदर्शनीलाई बृहत बनाउँदै मोरङ–झापास्तीय प्रदर्शनी गरी पुरस्कारको व्यवस्था गर्दैछौं । गौरादह बजारलाई व्यवस्थित बनाएका छौं । दसैंमा बजार उद्घाटन गर्ने कार्यक्रम पनि छ ।

परिवारका लागि एक दिन छुट्टी : जीवन घिमिरे, सामाजिक विकासमन्त्री

asgd

दसैंमा मेरो छुट्टी भएको छैन । दशैं भनेर दशमीको दिन छुट्टीको रूपमा बस्छु । त्यसको अघि र पछि पनि कुनै न कुनै कार्यक्रम पर्छन् । मन्त्री हुनुभन्दा अघि पनि । दसैंमा शुभकामना आदान–प्रदान कार्यक्रमहरू हुन्छन् ।

म ती कार्यक्रममा सहभागी हुन्छु । अझ पहिले त तिहार निकै अगाडिदेखि लाग्थ्यो । पार्टीका लागि आर्थिक स्रोत जुटाउन हिँड्न्थौ । अहिले त्यो चाप छैन । तर, दसैंका लागि नै भनेर त्यस्तो छुट्टै कार्यक्रम छैन । परिवारले पनि बुझेका छन् । त्यसले गर्दा धेरै समय परिवारलाई दिन पाइएको छैन ।

 

२५ वर्षदेखि कार्यकर्ता र परिवारसँग दसैं : जगदिश कुसियत, वन पर्यटन तथा वातावरणमन्त्री

दसैं सामान्य रूपमा बित्छ । पहिलेदेखि नै पारिवारिक भेटघाट कार्यकर्ता भेटघाट हुन्छ । आफ्ना साथी भाईसँग भेटघाट र पारिवारिक भेटघाट छ । मन्त्री हुनुअघि पनि सांसद भएको थिएँ । त्यस दिनदेखि मेरो दसैंमा परिवर्तन भएको छैन । २५ वर्षदेखि एउटै हिसाबमा दसैं चलिरहेको छ । रमाइलो नै छ ।

सामान्य हुन्छ दसैं : सरस्वती पोखरेल, उपसभामुख

sdag

दशैं पहिले जस्तै सामान्य रूपमा नै बित्छ । पारिवारिक भेटघाट शुभकामना आदान प्रदान कार्यक्रममा बित्छ । दसैंमा अलि बढी समय परिवारिक रमाइलो र भेटघाटमा सीमित गर्दै मितव्यायी रूपमा बित्ने गर्छ ।

Loading...