fbpx

कति बेला र कति मात्रामा गर्नुपर्छ कफीको सेवन ?

विराटनगर, १७ असोज । मानिस तनाव र थकानबाट मुक्त रहनका लागि कफी पिउने गर्दछन् । कफी पिउनेबित्तिकै निन्द्रा र शरीरको थकान हराएर फ्रेस भएको महशूस गरिन्छ । कफीले मुड फ्रेस गराउने हुँदा कफी पिउनेहरू आफू मात्र नभएर अरुलाई पनि कफी पिउन सल्लाह दिने गर्छन् । तर, सुत्नुअघि कफी पिउँदा निन्द्रा नलाग्ने समस्या निम्तिने विशेषज्ञहरू बताउँदै आएका छन् ।

कफी पिउँदा निन्द्रा नलाग्ने समस्याले मानसिक तथा शारीरिक समस्या निम्तिन सक्ने हुँदा बिर्सेर पनि रातिको समयमा कपी नपिउन विज्ञहरूले सल्लाह दिने गर्छन् । कफीमा स्फूर्ति ल्याउने क्याफिन हुन्छ, तर एक दिनमा चार कपभन्दा बढी कफी पिउनु हुँदैन । विज्ञका अनुसार १० ग्राम कफीमा ४ मिलिग्राम क्याफिन हुन्छ, जसले शरीरमा दुई घन्टासम्म असर गर्छ ।

बढी मात्रामा चिया वा कपी पिउँदा पेट पोल्ने, दुख्ने समस्याले सताउने गर्न सक्छ । पेटको समस्या पछि गएर ग्याष्ट्रिकको रूपमा देखापर्ने हुन्छ । जसले गर्दा लामो समयसम्म औषधिको सेवन गर्नुपर्ने हुन सक्छ । कफीको अत्यधिक सेवनले मानिसमा डर पैदा गराएर मुटुको धड्कन रोक्ने सम्भावना बढाइ दिन्छ । अफिसको समयमा एक कप कफी पिउनु ठीकै हुन्छ तर, पटक–पटक धेरै कफी पिउँदा हाम्रो स्वास्थ्यलाई निकै हानीकारक हुन सक्छ ।

कफीमा हुने कफिनले भोक मार्नुको साथै अन्य रोगलाई निम्त्याउने गर्छ । दैनिक कफी पिउने बानी छ भने सुत्नुभन्दा अघि कहिले पनि पिउनु हुँदैन । रातिको सट्टा बरु दिउँसो पिउदा निन्द्रामा त्यस्तो खासै असर भने गर्दैन । विज्ञका अनुसार दिनमा ३ देखि ४ कप कफी पिउनु सामान्य नै मानिन्छ । तर, हाई कोलेस्ट्रोलको समस्या भएकाहरु र गर्भवतीले भने दिनमा १ कप भन्दा बढी कफी पिउनुहुँदैन ।

बढी कफी सेवन गर्दा महिलाहरूमा गर्भपातको जोखिम हुनुका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्ने पाइएको छ । त्यसबाहेक हड्डी कमजोर भएका महिलाहरूलाई पनि कफीको मात्रा कम गर्नु पर्छ ।

Loading...