fbpx

दसैंमा मदिराको ह्याङओभर हटाउन यसो गरौँ

विराटनगर, १७ असोज । नेपालीहरूको महान् चाड दसैंको माहौलमा घरघरमा वाइन, बियर, विभिन्न ब्रान्डका रक्सीजस्ता मदिराजन्य पदार्थहरूको सेवन गरिन्छ । रमाइलोको लागि थोरै मात्रामा रक्सीको सेवन गरेमा खासै त्यस्तो हानि नहोला तर, अत्यधिक मात्रामा सेवन गर्दा दसैं पनि नरमाइलो हुनुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने गर्छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले शारीरिक समस्या भएका व्यक्तिहरूले रक्सीको सेवन नगर्न सुझाव दिँदै कुनै पनि शारीरिक समस्या नभएका स्वस्थ व्यक्तिहरूले एक दिनमा दुई पेग हार्ड ड्रिंक, एक ग्लास वाइन र एक बोतल बियर खाएसम्म खासै बिगार नगर्ने बताउँछन् । मदिराको नसा जब सकिन्छ, टाउको भारी हुनुका साथै थकान महशूस हुन थाल्छ । यसलाई मदिरा पिएपछिको ह्याङओभर भनिन्छ ।

कतिलाई टाउको दुख्ने, उल्टी हुने, चक्कर आउनेसमेत हुने गर्छ । अत्यधिक रक्सीको सेवन गरिसकेपछि अधिकांशलाई ह्याङओभरको समस्या हुन्छ । कतिपयलाई त अर्को दिनसम्म पनि दिनभरिनै ह्याङओभरले लठ्याइरहेको हुन्छ । रक्सी पिउँदा शरीरमा पानीको मात्रा कम भइ अम्लको मात्रा बढ्न जाने हुँदा शरीरमा धेरै थकाइ लाग्छ र सुस्त हुइन्छ । यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउनुका साथ साथै दैनिक गर्ने काममा पनि असर परिरहेको हुन्छ ।

मान्छेहरूले रक्सीको ह्याङओभर हटाउनका लागि विभिन्न घरेलु उपायहरू अपनाउने गर्छन् । सकभर धेरै रक्सीको सेवन गर्नु हुँदैन । शरीरमा पानीको कमी हुने हुँदा ह्याङओभरबाट मुक्ति पाउनका लागि धेरै मात्रामा पानीको सेवन गर्नुपर्छ । कागती तथा अमिलो खानेकुरामा भएको तत्त्वले चक्कर लाग्न नदिएर रक्सीको नशा हटाउने हुँदा ह्याङओभर भएको बेलामा अमिलो खानु पर्छ । पाएमा कागती पानी, नरिवलको पानी पिउनुपर्छ । रक्सीले शरीरमा ग्लुकोजको मात्रा कम गराउने हुँदा ग्लुकोज पानी, गोलभेँडाको जुस खाएमा शरीरको आलस्यताका साथै ह्याङओभर पनि हटेर जान्छ ।

काँचो अदूवा वा अदूवा हालेको चिया पिउँदा टाउको दुखेको कम गरी ह्याङओभर हटाउन सक्छ । दूध वा दही पिउँदा पनि रक्सीको नशा कम हुन्छ । ह्याङओभर भएको बेलामा केरा खानु पनि निकै लाभदायक हुन सक्छ । रक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने समस्या भएमा तत्कालै मह चाट्दा केही हदसम्म रक्सीको नशा कम लाग्ने गर्छ । यसले बिस्तारै ह्याङओभर पनि उतार्ने गर्छ । यदि, यो सबै सामग्री उपलब्ध नभएको खण्डमा रक्सी धेरै पिएर हुने समस्याबाट छुट्कारा पाउनका लागि सबैभन्दा राम्रो उपाय भनेको आराम गरी धेरै पानी पीएर एक चक्की एस्पिरिन लिनु हो ।

Loading...