fbpx

मेस्सीले अर्जेन्टिनाको टिमलाई रुवाए : डी मारिया

एजेन्सी, १७ असोज । अर्जेन्टिनाका स्टार खेलाडी एन्जल डी मारियाले आफ्ना सहकर्मी लियोनल मेस्सीले अर्जेन्टिनाको टोलीलाई रुवाएको बताएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार डी मारियाले ‘ईएसपीएन’सँगको अन्तर्वार्ताको क्रममा मेस्सीले कोपा अमेरिकामा दिएको अभिव्यक्तिले अर्जेन्टिनी टिम रुएको बताएका हुन् ।

af

डी मारियाका अनुसार मेस्सीले ब्राजिलविरुद्धको हारपछि पत्रकारसँग बोल्दा अर्जेन्टिनाको टोली भावुक बनेको थियो । कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिनाले घरेलु राष्ट्र ब्राजिलसँग २–० गोलले हार ब्यहोरेको थियो । खेलपछि मेस्सीले पत्रकारसँग भावुक कुराकानी गरेका थिए, जसले अर्जेन्टिनी खेलाडीहरू रुवाएको डी मारियाको भनाइ छ ।

ब्राजिलसँगको खेलमा हार ब्यहोरेपछि मेस्सीले आफ्नो अभिव्यक्तिमार्फत् सबैलाई भावुक बनाएको डी मारियाको भनाइ छ । उनले भनेका छन्, ‘जब हामी ब्राजिलसँग पराजित हुन पुग्यौं तब मेस्सीले केही सुन्दर शब्दहरू बोलेका थिए । उनले हामीजस्तो टिम पाएर आफूले गर्व महशूस गरेको कुरा बताएका थिए । त्यतिबेला पनि हामी भावुक भएका थियौं ।’

‘जब मेस्सीले हामी लामो समयसम्म टिममा संगै रहन सक्दैनौं होला भने तब हामी धेरै नै भावुक भयौं’, मारियाले थपे, ‘मेस्सीले त्यस्तो भन्दा युवा खेलाडीहरूको आँखाबाट आँसु खस्यो । अर्जेन्टिनासँग युवा स्टारहरू रहँदा रहँदै पनि र आफूहरू हकदार हुँदा हुँदै पनि तेस्रो स्थानका लागि भिड्नु पर्दा आफू दुखी भएको उनले बताएका थिए ।’

मेस्सीको अभिव्यक्तिपछि सबै भावुक भएको र विशेषगरी युवा खेलाडीहरू धेरै रुएको डी मारियाले बताए । उनले भने, ‘जब मेस्सीले आफ्ना कुराहरू भावुक तबरले सिध्याए, तब हामी सबैको आँखामा आशु थियो । किनकी, मेस्सीको त्यो भनाइले सबैको हृदय छोएको थियो । विशेषगरी, युवा साथीहरू धेरै रुए ।’

‘किनकी, युवा खेलाडीहरूलाई पनि यो सामान्य थिएन,’ उनले थपे, ‘उनीहरूले पनि मनमा चोट बोकेका थिए । उनीहरूलाई अझै धेरै काम गर्नु छ र सफलता कमाउनु छ । तर, सुरुआतमै लागेको उक्त चोट निकै ठूलो थियो ।’

यसैगरी डी मारियाले मेस्सी ब्राजिलसँगको हारपछि धेरै दुखी भएको बताए । उनले भने, ‘मेस्सी ब्राजिलविरद्धको हारपछि दुखी थिए । उनले आफ्नो राष्ट्रिय गानसमेत गाएनन्, कसैसँग कुरा पनि गरेनन् । यो कोपा अमेरिका नै फरक थियो । यसेकारण उनले तेस्रो स्थानका लागि भएको खेलमा आफ्नो मनमा रहेका सबै कुरा खोले । जसकारण उनी आलोचित भएका हुन् ।’

त्यसको तेस्रो दिनमा अर्जेन्टिनाले तेस्रो स्थानका लागि चिलीसँग खेलेको थियो । उक्त खेलमा अर्जेन्टिना र चिलीका दुवै कप्तानले झगडा गरेपछि दुवैलाई रातो कार्ड दिइएको थियो । जसपछि मेस्सीले विवादास्पद अभिव्यक्ति दिएका थिए । रेफ्री र आयोजकविरुद्ध ‘खरो’ अभिव्यक्ति दिएका मेस्सीलाई पछि कारबाही स्वरुप तीन महिनाको प्रतिबन्ध लागेको थियो ।

Loading...