fbpx

खडेरी प्रभावितलाई दशैँ मान्न चालम वितरण

खोटाङ १७ असोज । हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयलाई दशैँको लागि १० केजीका दरले चालम वितरण गरेको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयलाई नगरपालिकाले राहतस्वरुप चामल उपलब्ध गराएको हो ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वडाका करीब पाँच हजार ५ सय घरधुरी खडेरीपीडितलाई दशैँ मान्न जनही १० केजीका दरले चामल वितरण गरिएको नगरप्रमुख इवन राईले बताए । खोटाङको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र कम्तीमा मासिक १५ हजार रुपैयाँ नियमित आम्दानी भएका बाहेकका परिवारलाई चामल वितरण गरिएको जनाएको छ । खडेरीले मकै छर्न नपाएका र छरिएको मकैको बिरुवासमेत मरेपछि नगरसभाबाटै खाद्य सङ्कट क्षेत्र घोषणा गरेको थियो ।

खाद्य सङ्कट क्षेत्र घोषणा गरेको नगरपालिकाले १ करोड ३० लाख बराबरको चामल खरीद गरेर ल्याएको छ । वडा नं ९ सल्लेबाट खाद्यान्न वितरण शुरु गरेको नगरपालिकाले सबै वडाका खडेरी प्रभावितलाई वितरण गर्ने जनाएको छ । मकै, कोदो, गहत, जुनेलो, फापर र मासभटमास मात्र फल्ने हलेसी क्षेत्रमा फौजी कीराले समेत आतङ्क मच्याएको छ । करीब दुई महीनाअघि फैलिएको अमेरिकन फौजी कीरा अझै नियन्त्रणमा नआएको स्थानीयले बताएका छन् ।

खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुक्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने भएको छ । दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपातीसमेत लामो समयको खडेरी र फौजी कीराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् ।

खडेरीका कारण यस वर्ष जिल्लामा कम्तीमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्र खोटाङ प्राविधिक सहायक हरिनारायण राईले बताए । २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको खोटाङको अन्य ठाउँमा समेत खडेरीले असर गरेको छ ।

Loading...