fbpx

सहमति हुन नसक्दा प्रदेश १ को नामाकरण टुंगो लाग्न सकेन : सभामुख भण्डारी

विराटनगर १६ असोज । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले सहमति जुटन नसक्दा प्रदेशको नामाकरण टुंगो लाग्न नसकेको बताएका छन् ।
बिहीबार प्रदेश सभा सचिवालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख भण्डारीले स्थायी राजधानी जस्तै नामाकरण टुंगो लगाउन पटक पटक छलफल भएपनि सहमति जुटन नसक्दा प्रस्ताव दर्ता हुन नसकेको बताए । उनले नामकरणलाई टुंगो लगाउन राजनीतिक दल, सरकार र प्रदेश सभा पटक पटक छलफलमा बसेपनि सहमति जुटन नसक्दा बर्षे अधिवेशनमा प्रस्ताव दर्ता हुन नसकेको बताए ।

सभामुख भण्डारीले स्थायी राजधानी जस्तै प्रदेशको नामाकरण पनि सहमतिमै टुंग्याउने प्रयास भइरहेको र आगामी अधिवेशनमा प्रस्ताव दर्ता हुने विश्वास व्यक्त गर्दै भने,– ‘हामीले सहमतिमा टुंग्याउन छलफल जारी राखेका छौँ, राजधानी झै नामाकरण पनि सहमतिमै टुंगो लाग्छ ।’

सभामुख भण्डारीले चालु वर्षमा प्रदेश सभा भवनको निर्माणका लागि शिलान्यास गर्ने योजना रहेको र त्यसका लागि प्रदेश सरकारले जग्गा खोजी गरिरहेको जानकारी गराए । महानगरपालिकाले प्रदेश सभा भवन निर्माण गर्न जग्गा दिने घोषणा गरे पनि त्यो प्रदेश सरकार मार्फत नै आउनु पर्ने भन्दै भने,– ‘हामीलाई उपलव्ध हुने जग्गा जसले प्रदान गरेपनि प्रदेश सरकार मातहतबाटै आउनुपर्ने कानूनी प्रावधान छ ।’

सभामुख भण्डारीले सचिवालयको व्यस्तता, मन्त्री आउन ढिलाई गर्दा र कार्यव्यवस्था समितिको बैठकमा छलफल लामो हुँदा प्रदेश सभाको बैठक तोकिएको समयमा बस्न नसकेको जानकारी गराए । उनले आगामी दिनमा सकेसम्म समयमै बैठक बसाउन प्रयत्न गर्ने बताए ।

उपसभामुख सरस्वती पोखरेलले प्रदेश सभाको मर्यादलाई कायम राख्न पत्रकाहरुले सक्दो सहयोग गरेको खुसी लागेको बताइन् । उनले सभाको मिडिया सेन्टरलाई अझै व्यवस्थित बनाउन सहयोग गर्ने बताइन् । प्रदेश सभा र पत्रकारहरुको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ भन्दै उनले आगामी दिनमा अझै धेरै सहकार्य गरेर अगाडी बढने बताइन् । उद्योग वन, वतावरण तथा पर्यटन समिति सभापति सिता थेबेले बिषयत समिति र पत्रकारहरुको सम्बन्ध सधै समुधुर हुनुपर्छ भनिन् ।

प्रदेश सभाका प्रमुख सचिव गोपाल पराजुलीले पत्रकाहरुको रिर्पोटिङलाई सहज बनाउन मिडिया सेन्टरलाई सुबिधायुक्त बनाउने जानकारी गराए । प्रदेश सभाका उपसचिव अर्जुन निरौलाले सभामा सांसदहरुले बोलेका कुराबारे पुस्तक प्रकाशन गर्न लागेको जानकारारी गराए । उनले संसदको कामलाई प्रविधिमैत्री बनाउन एप निर्माण गर्न थालेको बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लम्साल, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेल, मोरङ शाखा अध्यक्ष बन्धु पोखरेल लगायतले प्रदेश सभालाई नागरिक हाउसका रुपमा बिकास गर्न सुझाव दिए । उनीहरुले संसदीय मामिलामा रिर्पोटिङ गर्ने पत्रकाहरुलाई निरन्त तालिम, भ्रमणको अवसर प्रदान गर्न माग गरे ।

Loading...