fbpx

चर्चित गायकहरूको दसैं : कोही स्टेज कार्यक्रममा ब्यस्त, कोही भेटघाटमा मस्त

माधव काफ्ले

नजिकिँदै आएको हिन्दूहरूको महान् चाड दसैंका लागि मानिसले अनेकन योजना बनाएका हुन्छन् । किताब पढ्ने, साथीभाईसँग भेट गरी रमाइलो गर्ने, पीङ खेल्ने, चंगा उडाउने, तास खेल्ने जस्ता योजना दसैंका लागि बुनिन्छ । यस्तै दसैंमा नयाँ लुगा, घुम्न जाने तथा मीठो–मीठो परिकारहरू बनाएर खाने चलनले गर्दा पनि यो पर्व मनाउन थप उत्साहित बनाइरहेको हुन्छ ।

अझ, गायकहरूको दसैं योजना केही फरक हुन्छ । उनीहरूले दसैंमा आफ्ना लागि मात्र नभएर दर्शक तथा स्रोताका लागि पनि योजना बुन्नु पर्छ । आफ्ना नातागोतामा मात्र नभएर दर्शक तथा स्रोताका लागि पनि समय छुट्याउनु पर्छ । कलाकारहरू दसैंमा कुनै कार्यक्रममार्फत् दर्शक एवम् स्रोतासँग जोडिन्छन् र आफ्ना प्रस्तुतीको सहायताले शुभकामना आदानप्रदान गर्छन्, खुशी साटासाट गर्छन् ।

afga
रामकृष्ण ढकाल

तर, जे होस् । यी सबैको योजनामा एउटा योजना चाहिँ हुबहु सबैको मिल्छ । त्यो हो, दसैंको मौका पारेरे आफ्ना साथीभाई, नातागोता र इष्टमित्रसँग भेटघाट हुनु, टीका लगाउनु र आशिर्वाद थाप्नु । तर, गायक रामकृष्ण ढकालको भने योजना फरक छ। गायक ढकालले यसपालीको दसैंमा आफ्ना लागि समय खासै छुट्याएका छैनन् । उनी यो पाली इष्टमित्रको हातबाट टीका लगाउने र आशिर्वाद थाप्ने छैनन् ।

उनी दर्शक तथा स्रोताबाट अझ बढी माया थाप्ने योजनामा छन् । किनकी, ढकालले यो पाली विदेशमा रहेर आफ्ना दर्शक एवम् स्रोताबाट माया आदान–प्रदान गरिरहेका छन् । हाल कार्यक्रमका लागि युरोपमा रहेका ढकाल अब दसैं र तिहार सकिएपछि मात्र देश फर्किनेछन् । कात्तिकको अन्तिम साता मात्र देश फर्किने योजना बनाएका ढकालले यो पालीको चाडवाड विदेशमा नै बिताउने छन् ।

aa
श्रीकृष्ण लुइँटेल (बोकेदाह्री)

धेरै अगाडिबाट सांगीतिक क्षेत्रमा होमिएर आफ्ना गीत–संगीतबाट स्रोताको मन जितिसकेका गायक बोकेदाह्री पछिल्लो समय पनि संगीतको क्षेत्रमा उत्तिकै सक्रिय छन् । हाँस्य गायक बोकेदाह्री भने यो दसैंमा एक–दुई वटा कार्यक्रममा आफ्ना दर्शक–स्रोतालाई गीतमार्फत् हसाउने र दसैं मनाउने योजनामा छन् । उनी केही कार्यक्रममा सहभागी हुन्छन् र टीकाको दिन आफ्नै निवास सुन्दरहरैंचामा बसेर टीका र आशिर्वाद थाप्छन् । यस्तै आफ्ना पुराना साथीभाईसँग भेटघाट गर्नुका साथै आमा तथा श्रीमतीलाई घरको काममा सहयोग गर्ने योजना उनको छ । खानपानको विषयमा भने उनी अलिक मिल्दैनन् । दसैं मासु खाने चाडमा पर्छ तर उनी भेज हुन् ।

afg
तुलसी पराजुली

लोक गायक तुलसी पराजुली सुरुआती चरणदेखि नै स्रोताको मनमा डेरा जमाउन सफल गायक हुन् । कार्यक्रमकै लागि काठमाडौं गएका उनी भने दसैं मनाउनकै लागि पूर्व फर्किँदैछन् । उनी पनि सुन्दरहरैंचामा नै दसैं मनाउँदैछन् । उनले दसैं योजना सुनाउँदै भनेका छन्, ‘सदाझैं यो दसैंमा पनि आफन्तको हातबाट टीका लगाउन र आशिर्वाद थाप्न मोरङ नै आइन्छ । १७ गतेतिर परिवारका साथ पाथीभराको दर्शन गर्न ताप्लेजुङ जाने योजना छ ।’

af
कर्ण दास

गायक कर्ण दासले पनि दसैंमा आफ्नो गाउँ फर्किने योजना बनाएका छन् । पोखरेली गायक दास हाल काठमाडौंमा छन् । दसैंका लागि नै शुक्रबार पोखरा फर्किने योजनामा रहेका दासले भने, ‘दसैंमा टीका त लगाउँदिन । तर, खानपान भने मज्जाले नै गरिन्छ । भेजु हुँ यसैले दूधबाट बनेका परिकार खाएर दसैं मनाउँछु । पोखरामा स्वीमिङ गर्ने र पोखराबाट १३ किलामिटर पर गाउँमा आफन्त भेट्न जाने मेरो योजना छ ।’

aa
आशिष सचिन

यस्तै पछिल्लो समय ‘पिरिम नलाउने’ र ‘एक कान दुई कान मैदान भइदियो’ बोलको गीतबाट स्रोताको मन जित्न सफल गायक आशिष सचिन भने यसपाली हजुरआमाको हातबाट टीका लगाउन तथा आशिर्वाद थाप्नका लागि बुटबल जाने योजनामा छन् । हाल काठमाडाैं रहेका उनले दसैं योजना सुनाउँदै भने, ‘२ वर्ष भयो हजुरआमाको हातबाट टीका नलगाएको । यसैले यो पालीको दसैंमा भने बुटबल जान्छु । दसैं मनाउनका लागि स्टेज कार्यक्रमहरू सेडुअलमा राखेको छैन तर, दसैं सकिएलगत्तै कार्यक्रमकै लागि युरोप जाँदैछु ।’

aa
प्रमोद निर्वान

‘किन यसरी’ र ‘यो कस्तो मोड’ जस्ता गीतबाट सांगीतिक उचाइ चुम्न सफल गायक प्रमोद निर्वानले भने यो दसैंमा साथीभाईसँग भेटघाट गरी रमाइलो गर्ने योजना बनाएका छन् । दसैंमा टीका नलगाए पनि साथीभाईसँग भेटघाट गर्ने योजना बनाएका निर्वानले भने, ‘म क्रिस्चियन धर्मावलम्बी भएका कारण टीका लगाउँदिन । तर, दसैं मलाई पनि लाग्छ । म साथीभाईसँग भेट गर्छु र रमाइलो गर्छु ।’

af
समीर बिक

पूर्वेली गायक समीर बिक पनि सांगीतिक क्षेत्रमा ख्यातिप्राप्त गायकमध्ये एक हुन् । ‘प्रिय तिमीले माया मार्याै नि’ गीतबाट इमेज अवार्ड जित्न सफल उनी भने दसैंमा घुमफिर गर्ने योजना बनाउँदैछन् । साथीभाईसँग रमाइलो गर्दै दसैं मनाउने योजनामा रहेका समीर आफ्ना इष्टमित्रसँगको भेटघाट नै दसैंमा सबैभन्दा मन पर्ने कुरा भएको बताउँछन् ।

Loading...