fbpx

दसैंमा रक्सी कति पिउने ?

विराटनगर, १६ असोज । नेपालीहरूको महान चाड दसैंको माहौलमा घरघरमा वाइन, बियर, विभिन्न ब्रान्डका रक्सी जस्ता मदिरापदार्थहरूको सेवन गरिन्छ । रमाइलोको लागि थोरै मात्रामा रक्सीको सेवन गरेमा खासै तेस्तो हानी नहोला तर, अत्यधिक मात्रामा सेवन गर्दा दशैं पनि नरमाइलो हुनुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने गर्छ । दशैंमा गर्मीको असर पनि रहेको हुँदा सावधानी अपनाउन जरुरी हुन्छ ।

रक्सी नखानु नै राम्रो तर, चाडपर्वको बेलामा उमंग र मस्तीमा मन मान्दैन ? रक्सी खाली पेटमा खानु हुँदैन । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार शारीरिक समस्या भएका व्यक्तिहरूले रक्सीको सेवन नगर्न सुझाव दिएका छन् । कलेजो, मुटुको समस्या, युरिक एसिडलगायत रोग भएकाहरूले भने रक्सीको सेवन नगर्नु नै राम्रो हुन्छ । सामान्यतः कुनै पनि शारीरिक समस्या नभएका स्वस्थ व्यक्तिहरूले एक दिनमा दुई पेग हार्ड ड्रिंक, एक ग्लास वाइन र एक बोतल बियर खाएसम्म खासै बिगार गर्दैन ।

ह्विस्की, जिन, रम, भोडका जस्ता ४५ प्रतिशत अल्कोहल भएको रक्सीलाई हार्ड ड्रिंक भनिन्छ । यसको दुई पेग भन्नुको अर्थ जम्मा ५० देखि ६० मिलिलिटर हो । वाइनमा १२ प्रतिशत अल्कोहल हुन्छ । डा. रेग्मी भन्छन्, एक ग्लास भन्नुको अर्थ दुई सय मिलिटिर वाइन हो । यस्तै, एक बोतल बियर अर्थात् ७ सय ५० मिलिलिटिर बियरले स्वास्थ्यमा खासै असर गर्दैन । तर, बियरमा अल्कोहलको मात्रा ४ प्रतिशत हुनुपर्छ ।

शरीरमा रक्सीको मात्रा बढी हुँदा उल्टो असर देखिन थाल्छ । रक्सीको अत्यधिक सेवनले तत्कालै शरीरमा पानीको मात्रा कम गराइ उल्टी आउने, घाटी, पेट तथा छाती पोल्ने, टाउको दुख्ने, होस नहुने जस्ता समस्या उत्पन्न हुन सक्छ । रक्सीको अत्यधिक सेवन गर्नाले एङ्जाइटी हुने, स्मरणशक्तिमा असन्तुलन आउने, साइकोमोटर परफर्मेन्स जस्ता समस्या देखिन सकिन्छ । मुटुको चालमा वृद्घसिँगै रक्तचाप समेत बढाउँछ । डा. रेग्मीका अनुसार रक्सीको अत्यधिक मात्रामा सेवन गर्नाले स्नायु प्रणालीमा परेको असर हटाउन समय लाग्नुका साथै हृदयाघात, मस्तिष्कघात जस्ता खतरा उत्पन्न हुन सक्छन् ।

Loading...