fbpx

ग्रिजम्यानसँगको सम्बन्धको विषयमा बोले मेस्सी, भने ‘हामी एक भएका छौं’

एजेन्सी, १६ असोज । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ सहकर्मी एन्टोइन ग्रिजम्यानसँगको सम्बन्धको विषयमा बोलेका छन् । च्याम्पियन्स लिगअन्तर्गत इटालियन क्लब इन्टर मिलानलाई हराउँदा एक असिस्ट गरेका मेस्सीले खेलपछि ग्रिजम्यानको विषयमा बोलेका हुन् ।

af

इन्टरसँगको खेलअगाडि ग्रिजम्यानले टिमका कप्तान मेस्सीसँग सम्बन्ध स्थापना गर्न गाह्रो भइरहेको बताएका थिए । उनले मेस्सी अरु खेलाडीजस्तो धेरै नबोल्ने बताउँदै उनले भनेका थिए, ‘उनीसँग मेरो पनि खासै कुरा हुन पाएको छैन । यो एकदमै गाह्रो छ । फेरि उनी घाइते भइ प्रायः खेल खेल्न पाएका छैनन् । यसकारण पनि हामीबीच सम्बन्ध स्थापना हुन गाह्रो भएरहेको हो । तर, चाँडै ठीक हुनेछ ।’

फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका बहन गरेका ग्रिजम्यान यसै सिजन मात्र एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका हुन् । १ सय २० मिलियन युरोमा बार्सिलोना आएका फ्रेन्च स्टार ग्रिजम्यानले अहिले मेस्सीसँगै खेलिरहेका छन् । तर, ग्रिजम्यान आइकन मेस्सी पनि मैदानमा भन्दा धेरै मैदान बाहिर छन् । ला लिगामा २ खेल मात्र खेलेका मेस्सी यो सिजन प्रायः घाइते अवस्थामा नै छन् । तर, ग्रिजम्यानले भने बार्सिलोनाका प्रायः खेल खेलेका छन् । ग्रिजम्यानले ७ खेल खेल्दा ३ गोल र २ असिस्ट गरेका छन् ।

यता, मेस्सीले भने आफूहरूबीच राम्रो सम्बन्ध भएको बताएका छन् । इन्टरलाई २–१ गोल अन्तरले हराएपछि बोल्दै मेस्सीले भने, ‘हामीबीचमा त्यस्तै कुनै अफ्ठेरो कारण छैन । पक्कै पनि उनी (ग्रिजम्यान) र मबीच कुनै समस्या छैन । हामीबीच राम्रो सम्बन्ध छ । यहाँ सबैसँग राम्रो सम्बन्ध छ । हामी एक भएका छौं ।’

‘हामी दुवैलाई थाहा छ कि, त्योबेलाको अवस्था राम्रो हरेन’, ३२ वर्षीय अर्जेन्टिनी स्टार मेस्सीले थपे, ‘अब सबै ठीक हुनेछ । अहिले हामीलाई जित चाहिएको थियो । किनकी, च्याम्पियन्स लिगमा हामी पछि परिरहेका थियौं । अब हामीले जित निकाल्दै एउटा स्तर पनि उकासेका छौं ।’

बार्सिलोनाले बुधबार राति आफ्नै मैदानमा क्याप नोउमा भएको खेलमा इन्टरविरुद्ध जित दर्ता गर्दै समूह ‘ए’को दोस्रो स्थान बनायो । उसले २ खेलबाट ४ अंक बनाएको छ ।

Loading...