fbpx

‘पोइ पर्‍यो काले’को ट्रेलरमा पोइ काले पर्नुको पीडा (भिडियोसहित)

विराटनगर, १६ असोज । ‘पोइ पर्‍यो काले’को ट्रेलर रिलिज भएको छ । कमेडी शैलीमा पोइ काले पर्नुको पीडा देखाएर ट्रेलरलाई युट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको ट्रेलरले दर्शकहरूलाई अझै कन्फ्युज पारेको छ ।

ट्रेलरमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, राजाराम पौडेल अभिनेत्री पूजा शर्मा र श्रृष्टि श्रेष्ठलाई देखाइएको छ । सौगातकै वरिपरि मूल कथा घुम्ने फिल्ममा कसले कसको श्रीमान्–श्रीमतीको भूमिका निभाएको भन्ने कुरालाई ट्रेलरमा देखाइएको छैन । फिल्मको मुख्य ट्वीस्ट नै यही रहेको र फिल्म हेरेपछि मात्र दर्शकले यसको जवाफ पाउने फिल्मका निर्देशक शिशिर राणाले बताएका छन् ।

शिशिर राणाको निर्देशनमा तयार भएको फिल्ममा सौगात, आकाश, राजाराम, पूजा र श्रृष्टिका साथै सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । कात्तिक ८ गते प्रदर्शनमा आउने फिल्मको प्रचार गर्ने क्रममा केही दिनयता फिल्मको निर्माण टिमले पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो ।

निर्देशक शिशिरले लेखेको कमेडी कथावस्तुमा आधारित रहेर निर्माण भएको फिल्मलाई शिव ढकालले छायांकन गरेका हुन् । श्यामबहादुर थापा प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, रघु परियार र किरण नेपालीले संयुक्त रूपमा लगानी गरेर फिल्मलाई निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम न्यौपाने र शिव गौतमले संगीत दिएका छन् ।

Loading...