fbpx

अछुत भन्दै बाबुको काजकिरियाबाट बञ्चित गराउनेलाई कानूनी कारवाही गर्न प्रहरीले मानेन, न्यायीक समितिबाट मिलापत्र गराइँदै

भोजपुर, १६ असोज । दलित महिलासँग विवाह गरेकै कारण बाबुको सामूहिक काजकिरिबाट बञ्चित गराउनेहरूलाई कानूनी कारवाही गर्न प्रहरीले इन्कार गरेको छ । भोजपुर नगरपालिका–११, आम्तेक राङबाङ्गेका ३२ वर्षीय चन्द्र खड्कालाई दलित केटी विवाह गरेको भन्दै आफ्ना बाबुको सामूहिक किरीयापुत्री बस्नबाट बञ्चित गराउने पुरोहित र पीडितका दाजुलाई कानूनी कारवाही गर्न प्रहरीले इन्कार गरेको हो ।

dsf
फाइल फोटोः बाबुको एक्लै किरिया बसेका चन्द्रबहादुर ।

०६२ सालमा चन्द्रले छिमेकी लालबहादुर विश्वकर्माकी छोरी गीता विश्वकर्मासँग प्रेमविवाह गरेका चन्द्रबहादुरलाई उनका दाजु सम्मरबहादुर खड्का र पुरोहित लेखनाथ खनालले बाबु पूर्णबहादुर खडकाको सामूहिक काजकिरिया गर्नबाट बञ्चित गरेका थिए । वैदेशिक रोजगारीमा विदेश उड्न लागेको बेला ३ असोजमा बुबाको मृत्यु भएको खबर पाएपछि घर फर्केका चन्द्रलाई अछुत भन्दै दाजु र पुरोहितले अलग्गै काजकिरया गर्न लगाएका थिए ।

चन्द्रबहादुरका अनुसार दाजुको घरमा दाजुसँगै बाबुको किरीयापुत्री बसेका बेला ब्राम्हण लेखनाथले दाजु सम्मरबहादुरलाई ‘भाईसँगै बसेर जुठो बार्छौ भने म आएर काम गर्दिँन, तिम्रो भाईलाई छुदिनँ’ भनेर छुवाछुत गरेका थिए । त्यसपछि उनका दाजुले पुरोहितको आग्रहमा भाई चन्द्रलाई ‘तँ तेरो घरमा गएर जुठो बार्, म मेरो घरमा जुठो बार्छु, यहाँ नआईज’ भन्दै अलग्गै किरिया बसाएका थिए ।

भोजपुरका पत्रकार मोहन दुरालका अनुसार पुनः चन्द्रबहादुर कानून व्यवसायीसँग रितपूर्वक जाहेरी लेखाएर अधिकारकर्मीहरूसहित प्रहरीमा किटानी जाहेरी दर्ता गराउन जानेछन् । र, पनि प्रहरीले दर्ता गर्न नमानेमा माथिल्लो निकायमा जाहेरी दर्ता गराउने योजना छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले पीडितले किटानी जाहेरी लिएर आएको तर नगरपालिकाको न्यायीक समितिले हामी छलफल गरेर मिलाउछौँ भनेर भनेकोले तुरुन्तै दर्ता नगरेको बताए । भने, ‘प्रहरीले जाहेरी दर्ता गर्दैन भन्नै मिल्दैन तर न्यायीक समितिले आग्रह गरेकोले छाडिदिएका हौँ ।’

जातीय विभेद तथा छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार जातीय कारणले कुनै कर्मकाण्ड, संस्कार र संस्कृतिबाट बञ्चित गराउन पाइँदैन । यसरी बञ्चित गराउनेलाई ४ वर्षसम्म कैद ३ लाख रुपैयाँसम्म जरिवाना र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था छ । जातीय छुवाछुत कसुर ऐन जघन्य अपराधअन्र्तगत पर्ने अनुसूची १ भित्रको मुद्दा भएकोले अपराध भएको सूचना पाएकै आधारमा पीडितको जाहेरीबिना पनि प्रहरीले आरोपीलाई पक्राउ गरेर कानूनी कारवाही चलाउनु पर्दछ । जघन्य फौजदारी कसुर भएकोले यस्तो कसुर न्यायीक समितिले छलफल गरेर मिलाउन पाइँदैन ।’

चौध वर्षअघि प्रेम विवाह गरेका चन्द्रबहादुर र गीताका १३, ११, ७ वर्षका ३ छोरी र १५ महिने एक छोरा छन् ।

Loading...