fbpx

बार्सिलोनासँग हारेपछि रेफ्रीविरुद्ध खनिए इन्टर मिलानका प्रशिक्षक

एजेन्सी, १६ असोज । च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनासँग हारेपछि इटालियन क्लब इन्टर मिलानका प्रशिक्षक इन्टर मिलानको प्रशिक्षक एन्टेनियो कोन्टे रेफ्रीविरुद्ध खनिएका छन् । बुधबार राति भएको खेलमा बार्सिलोनासँग उसैको मैदानमा २–१ गोलको हार ब्यहोरेपछि इन्टरका प्रशिक्षक कोन्टे रेफ्रीविरुद्ध रिसाएका हुन् ।

क्याप नोउमा भएको उक्त खेलमा इन्टरले दोस्रो मिनेटमै लाउटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । तर, खेलको दोस्रो हाफमा स्टार खेलाडी लुइस स्वारेज चम्किँदा इन्टरले हार ब्यहोरेको हो । स्वारेजले खेलको ५८औं मिनेटमा र ८४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले जित सुनिश्चित गरेको थियो । तर, खेलपछि पत्रकारसँग बोल्दै कोन्टेले आफूहरू धेरै कुराको हकदार रहेको बताए ।

उनले स्टेफानो सेन्सीमाथि फल भएको र त्यहाँ आफूले पेनाल्टीको अवसर पाउनु पर्नेमा रेफ्रीले नदिएको आरोप लगाए । उनले भने, ‘हामी अरु धेरै कुराको हकदार थियौं । हामीले यहाँ हार्नुको मुख्य कारण हामीहरूले नपाएको पेनाल्टी थियो । उक्त कुरा मलाई कत्ति पनि मन परेन । तर, म उक्त विषयमा थप कुरा गर्न चाहँदिन । बेन्चमा बसेका हामीलाई त्यो कुरा अलिकति पनि मन परेको थिएन ।’

‘रेफ्रीले मलाई के भने ?’, उनले थपे, ‘केही भनेनन् । तर, उनले मेरो नजिक चेतावनी दिँदै भनेः अर्को मौका पाएमा तपाईंलाई बाहिर पठाउँछु । उनको त्यो मप्रतिको असम्मानित शब्द मलाई मन परेन । उनीहरूले अन्य टिमभन्दा राम्रो टिमलाई कसरी सम्मान गर्नुपर्छ भन्ने पनि जान्नु पर्छ ।’

यस्तै कोन्टेले च्याम्पियन्स लिगको फाइनल खेलाइसकेको रेफ्रीले बार्सिलोनाको प्रभावमा रहन हुँदैन भने । उनले भने, ‘हामी ती रेफ्रीको कुरा गर्दैछौं जसले च्याम्पियन्स लिग खेलाइसकेका छन् । एउटा टप रेफ्रीले बार्सिलोनाद्वारा प्रभावित नभइर खेल खेलाउनु पर्दथ्यो । यद्यपि, म व्यक्तिगत रूपमा आफ्ना अनुभवहरू सुनाउँदैछु । यो कुनै क्लबको आपत्ति होइन ।’

यस हारपछि इन्टर समूह ‘ए’को पुछारमा छ । उसँग १ अंक छ । उक्त समूहको शीर्ष स्थानमा डर्टमुण्ड रहेको छ । उसले हिजै भएको अर्को खेलमा स्लाभिया प्रहालाई हराउँदै शीर्ष स्थान बनाएको हो । यता, इन्टरलाई हराएको बार्सिलोना दोस्रो स्थानमा छ । बार्साले २ खेलबाट ४ अंक बनाएको छ ।

Loading...